Mero Chitwan
कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर  स्थानान्तरणको शुभारम्भ

चितवन : चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक गैँडा स्थानान्तरणको काम सुरु गरेको छ । नवलपुरको कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर कामको शुभारम्भ गरिएको हो । 

    निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि यहाँका केही गैँडा निकुञ्जको पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको निकुञ्ज कार्यालयले जनाएको छ । 

    निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज देवचुली नगरपालिकाको महाराजा सामुदायिक वन आसपास बस्दै आएको २८ वर्ष हाराहारीको गैँडा कावासोती नगरपालिका–२ स्थित वनबाट नियन्त्रणमा लिइएको हो । 

    उक्त गैँडा मानव बस्तीमा समेत पस्ने गरेको उहाँले बताउनुभयो । उमेर बढी भएकाले यो गैँडालाई निकुञ्जको मुख्यालय कसराबाट पूर्वतर्फ लगेर छाडिने तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जका हात्ती, हात्ती सारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जना जनशक्ति गैँडा स्थानान्तरणमा परिचालन भएका छन् । 

    निकुञ्जले अहिले छ वटा गैँडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी गरेको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । स्थानान्तरण गर्दा आठ वर्षदेखि माथिका गैँडालाई गरिने छ । 

    गैँडा स्थानान्तरणका लागि दुई साता समय लाग्ने अनुमान गरिएको सूचना अधिकारी तिवारीले बताउनुभयो । गैँडा स्थानान्तरणपश्चात् पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा सहयोग पुग्ने अपेक्षा निकुञ्जको छ । 

    पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ गैँडा छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा छन् । 

    एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम बढ्ने गर्दछ । घाँसेमैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्व स्थानान्तरण थालिएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update