Mero Chitwan
चितवनमा पुस १० देखि हात्ती तथा पर्यटन महोत्सव

चितवन–१७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आगामी पुस १० गतेदेखि हुने भएको छ । 
 
कोभिड महामारीका कारण स्थगन गरिएको हात्ती महोत्सव क्षेत्रीय होटल संघ नेपाल चितवनले चार वर्षपछि गर्न लागेको हो । कोभिड–१९ का कारण थलिएको पर्यटन व्यवसायलाई अझैमाथि उठाउन र पर्या–पर्यटनसम्बन्धी गतिविधि र स्थानीय उत्पादनलाई बजारीकरण गरी राष्ट्रियस्तरमा पहिचान गराउन महोत्सव गर्न लागिएको आयोजकले जनाएका छन् । 

महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आयोजना गरिने छ ।  चितवनमा पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया, स्थानीय वेषभूषा तथा कला संस्कृतिसहित झाँकी प्रदर्शन, हात्तीको दिनचर्याबारे जानकारी, स्थानीय कृषि उत्पादनको प्रवर्द्धन  गरिने आयोजकले जनाएका छन् । 

महोत्सवमा अग्रज, उत्कृष्ठ पथप्रदर्शक, सुरक्षाकर्मी, माउते, डुङ्गा चालक, जीप सफारी चालक लगायतलाई सम्मान गरिनेछ । सन् २०१८ पछि हात्ती महोत्सव अहिले हुन लागेको हो । महोत्सवको दैनिक पाँच हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । 

 यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती महोत्सव हुँदै आएकोमा यसपटक मैनाहा चौरमा हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  २२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update