Mero Chitwan
स्वास्थ्य बिमा :  बिमितले अब निजीमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने

काठमाडौं- स्वास्थ्य बिमा गराउनेहरुले अब निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ । 

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरेर अबदेखि बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउँदा बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुेपर्ने व्यवस्था गरेको हो । सरकारी अस्पतालमा उपचार गराउँदा भने  १० प्रतिशत रकम तिर्नुपर्ने हुन्छ । 

गत माघ १ गतेदेखि सरकारी, निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्दा १० प्रतिशत रकम तिर्ने व्यवस्था गरिएको थियो । बोर्डले पुनः कार्यविधि संशोधन गरेर सरकारी र निजी तथा सामुदायिक अस्पताललाई छुट्टाछुट्टै सहभुक्तानी रकम तोकेको हो । 

सरकारी अस्पतालको क्षमतामा विकास गर्न र बिरामीको सरकारी अस्पतालप्रति आकर्षण गराउन सरकारी अस्पतालमा उपचार गर्दा १० र निजी तथा सामुदायिक अस्पतालमा २० प्रतिशत सहभुक्तानी राखिएको बोर्डले जनाएको छ । 

  गत माघदेखि अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गर्नका लागि बोर्डले सहभुक्तानी प्रणाली लागू गरेको हो । सहभुक्तानीले १५ शय्यासम्मका आधारभूत अस्पतालमा भने लागू हुँदैन । सङ्घीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, सबै निजी, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा भने सहभुक्तानी प्रणाली लागू हुने कार्यविधिमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  २२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update