मेरो चितवन
रुसमा ४ नेपालीको मृत्यु : किन औपचारिक जानकारी सार्वजनिक गर्दैन परराष्ट्र ?

काठमाडौं । रुसी सेनामा कार्यरत ४ नेपाली नागरिकको मृत्यु भएको रुसस्थित नेपाली दूतावासले पुष्टि गरे पनि सरकारले कुनै औपचारिक जानकारी दिएको छैन ।

दूतावासले कन्सुलर सेवा विभागलाई मंसिर ८ गते पत्राचार गरेपछि मृतकका परिवारले समेत जानकारी पाइसकेका छन् । तर, युद्धग्रस्त मुलुकमा नेपाली मारिएको विषयमा भने सरकार बेखबर जस्तै भएर बसेको छ । 

परराष्ट्र मन्त्रालयले यस विषयमा औपचारिक जानकारी दिएको त छैन नै, सचिव, प्रवक्तालगायतका जिम्मेवार अधिकारी सञ्चारकर्मीको सम्पर्कमै आउन चाहिरहेका छैनन् । मस्कोस्थित दूतावासले मृत्यु भएका नेपाली नागरिकको मृत्यु प्रमाणपत्रसमेत पाइसकेको उल्लेख गर्दै परिवारसँगको सम्पर्कका लागि सहजीकरण गर्न कन्सुलर विभागलाई आग्रह गरेको थियो । 

मृतकका परिवारले हिजो पत्र सार्वजनिक गरेपछि मात्र यो विषय बाहिर आएको हो । एक जनाको गत असार २९ मा र तीन जनाको कात्तिक २९ मा मृत्यु भएको दूतावासले पुष्टि गरेको हो । 

युवाहरू औपचारिक वा अनौपचारिक, जुनसुकै माध्यमबाट बिदेसिए पनि नेपाली नागरिकको सुरक्षाको जिम्मेवारी परराष्ट्र मन्त्रालयको हो । तर, अहिले कति नेपाली रुस पुगेका छन् र रुस-युक्रेन युद्धमा कति सहभागी भएका छन् भन्ने जानकारी मन्त्रालयलाई छैन । 

केही महिनाअघि नेपाली युवा रुसको निजी सैन्य समूह वाग्नरमा सहभागी भएको सार्वजनिक भएपछि मन्त्रालयले श्रम सम्झौता नभएको र युद्धको स्थिति रहेकाले रुस नजान आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो । तर, मन्त्रालयले व्यक्तिगत पहलमा पर्यटन भिसामा रुस जान भने रोकेको थिएन । 

झन्डै २ सय नेपाली युवा रुसी सेनामा रहेको हुन सक्ने अनुमान छ । तर कति नेपाली छन् भन्ने तथ्यांक पनि सरकारसँग छैन ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०