Mero Chitwan
सुदूरपश्चिम सरकार जोगाउने मुख्यमन्त्रीको प्रयास, नागरिक उन्मुक्तिलाई लिएर मन्त्रिपरिषद् बिस्तार

धनगढी-केन्द्रमा नेपाली कांग्रेस सत्ता गठबन्धनबाट बाहिरिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले  नेपाली का‌ंग्रेस नेतृत्वको प्रदेश सरकार जोगाउने प्रयास गरेका छन् । 

केन्द्रको नयाँ सत्तासमीकरणसँगै माओवादीका तीन र समाजवादी पार्टीका एक मन्त्री बर्खास्त गरेका शाहले आज साँभः मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री शाहले घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन् । यस्तै इन्दिरा गिरी र खुसीराम चौधरीलाई पनि मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्‌मा संलग्न गराएका छन् । इन्दिरा गिरिलाई कृषि राज्यमन्त्रीको जिम्मा दिइएको छ भने खुसीराम चौधरीलाई जिम्मेवारी तोकिएको छैन ।

आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाएका चौधरी नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता हुन् भने इन्दिरा र खुसीराम पनि नागरिक उन्मुक्ति पार्टीकै प्रदेश सभा सदस्य हुन् । नवनियुक्त तीनै जना मन्त्रीलाई आजै पद तथा गोपनीयताको शपथ गराएइको छ ।

 ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । माओवादी र एकीकृत समाजवादी बाहिरिएपछि अब सरकारसँग नेपाली काँग्रेसका १७ र नागरिक उन्मुक्ति पार्टीका सात गरी २४ जना प्रदेश सभा सदस्य छन् । १८ सिट जितेको नेपाली काँग्रेसका एक जना प्रदेश सभा सदस्यको निधन भएपछि काङ्ग्रेससँग १७ जना प्रदेश सभा सदस्य छन् । स्वतन्त्र १ जना र राप्रपाका पनि १ सांसद छन् ।

sudur-paschim-1709915877.jpg

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  २२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update