Mero Chitwan
बैंकको ऋण तिर्दिनँ भन्नेलाई छाड्दैनौं : अर्थमन्त्री पुन

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने बताएका छन् । 

नेपाल बैंकर्स संघका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने स्पष्ट पारे।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ऋण नर्तिन भड्काउँदै हिंड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको जानकारी पनि मन्त्री पुनले दिए।

भेटमा बैंकर्स संघका प्रतिनिधिले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए। ऋण उठाउन गएका बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहारका साथै भौतिक आक्रमणका घटना बढेकामा गम्भीर हुन मन्त्री पुनसँग बैंकर्सहरुले आग्रह गरेका थिए।

उनले सरकारले लगानीकर्ताको मनोबन गिर्न नदिने पनि बताए। नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीलगायतले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए।

 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update