
काठमाडौं : आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थ मन्त्रालयले पाँच करोड रुपैयाँ निकासा गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिएका हुन् । ‘नेपाली टोलीले क्रिकेटको विश्वकपजस्तो ठूलो प्रतियोगिता खेल्दै छ । विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो,’ घिसिङले भने ।
नेपाली टोली विश्वकपमा पुगपछि टोलीको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहालले जनाएका छन् । नेपालमा गत अक्टोबर ३० देखि नोभेम्बर ५ सम्म भएको आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिखदेखि सुरु हुने आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकपका लागि नेपाल छनोट भएको थियो ।
सन् २०१४ मा पहिलोपटक टी-ट्वेन्टी विश्वकप खेलेको नेपालले १० वर्षपछि टी-ट्वेन्टी विश्वकप खेल्न लागेको हो ।
सरकारको यो कदमलाई नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत धन्यवाद भनेको छ । अब विश्वकपअघि नेपाली राष्ट्रिय टोलीले हङकङमा त्रिकोणात्मक सिरिज खेल्नेछ । त्यसपछि आयरल्यान्ड ए, भारतको बरोडा र गुजरातसँग पनि सिरिज खेल्नेछ । आउँदो अप्रिलमा नेपालले एसीसी प्रिमियर कप खेल्ने तालिका छ । विश्वकपअघि नेपाली पुरुष सिनियर क्रिकेट टिमको तालिका निकै व्यस्त छ ।