Mero Chitwan
राजनीतिमा नयाँ ट्वीस्ट : एमाले, जसपा र स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बन्ने, कांग्रेस आउट !

काठमाडौं–नेपाली कांग्रेससहितको सत्ता गठबन्धन भत्कने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा हिजो राति भएको छलफल माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको नयाँ गठबन्धन बनाउने सहमति भएको हो ।

हिजै जसपा अध्यक्ष उपेन्द्र यादवको घरमा एमाले अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, माओवादी उपमहासचिव वर्षमान पुन, उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच नयाँ गठबन्धनका लागि सहमति भएको बताइएको छ । त्यसपछि बालुवाटारमा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित बैठक बसेको थियो । 

नयाँ राजनीतिक घटनाक्रम विकसित भएपछि नेकपा एमालेले अहिले ओलीनिवास बालकोटमा केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । गठबन्धन भत्कने संकेत देखिएपछि सत्ता गठबन्धनको अहिले बिहान ८ बजे बस्ने भनिएको बैठक समेत स्थगित गरिएको छ भने माओवादी केन्द्रले पनि आकस्मिक बैठक बोलाएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि हिजै राति बुढानीलकण्ठमा पदाधिकारीसँगको बैठकमा मन्त्री फिर्ता बोलाउन सक्ने या गठबन्धनबाटै बाहिरिन सक्ने भएकाले त्यसका लागि तयार रहन नेताहरुलाई भनेका थिए । 

राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रले गरेको दाबी र संक्रमणकालीन न्यायसम्बन्धी केही बुँदामा माओवादी र एमालेबीचको बढ्दो निकटताले वर्तमान गठबन्धन परिवर्तनको संघारमा पुगेको हो । 

नयाँ गठबन्धनमा स्वतन्त्र पार्टीका सभापति लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर पुनः सत्तारोहण गर्नेछन् भने एमालेले राष्ट्रिय सभा अध्यक्ष पाउनेछ । एमालेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा असहमति रहेका बुँदामा सहमति जनाउने सहमति भएको छ । प्रधानमन्त्रीमा भने दाहाल नै कायम रहने बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update