Mero Chitwan
राष्ट्रिय सभाका १९ सदस्यको शपथ आज

काठमाडौं-राष्ट्रिय सभाका नयाँ १९ सदस्यले आज शपथ लिँदैछन् । गत माघ ११ मा भएको निर्वाचनबाट चुनिएका कांग्रेसका १०, माओवादीका ५, एकीकृत समाजवादीका २, एमाले र जसपाका १–१ राष्ट्रिय सभा सदस्यले शपथ लिन लागेका हुन् । 

उनीहरुलाई बिहान साढे ११ बजे उपाध्यक्ष उर्मिला अर्यालले शपथ गराउने कार्यक्रम छ । दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ, जहाँ नयाँ सदस्यले आफ्नो धारणा राख्नेछन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सदस्यको ६ वर्षे कार्यकाल आइतबार राति नै सकिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा मनोनीत हुने एक सदस्यको भने टुंगो लागिसकेको छैन ।

नयाँ निर्वाचित राष्ट्रिय सभा सदस्यमा कांग्रेसका कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट छन् । माओवादीबाट रेनु चन्द, विष्णुबहादुर विश्वकर्मा, झक्कु सुवेदी, मनरूपा शर्मा र श्रीकृष्ण अधिकारी राष्ट्रिय सभामा आएका छन् । एकीकृत समाजवादीका सावित्री मल्ल र घनश्याम रिजाल विश्वकर्मा, जसपाकी पूजा चौधरी र एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएका छन् ।

राष्ट्रिय सभाबाट एमालेका अध्यक्षसहित ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १, स्वतन्त्र १ र राष्ट्रपतिबाट मनोनीत १ सांसदको कार्यकाल सकिएको हो । अध्यक्ष पद नै रिक्त भएपछि राष्ट्रिय सभाको क्यालेन्डरअनुसार फागुन २९ मा निर्वाचन गर्ने तय भएको छ । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच अध्यक्षको निर्वाचनलाई लिएर अन्यथा निर्णय नभए सोही दिन चुनाव हुनेछ ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update