Mero Chitwan
अघिल्लो वर्षको तुलनामा महंगी घट्यो, रेमिट्यान्स बढ्यो [पूर्णपाठ]

काठमाडौं–नेपालमा अघिल्लो वर्षको तुलनामा चालु वर्षको चार महिनामा महंगी घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको प्रतिवेदनले महंगी घटेको देखाएको हो । 

प्रतिवेदनअनुसार २०८० कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलपूmलको १४.०१ प्रतिशत,
खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको छ । समीक्षा महिनामा घ्यू तथा तेल र तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १०.७६ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ५.२७ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ । समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.८६ प्रतिशतले घटेको छ ।

२०८० कात्तिक महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०० प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.५६ प्रतिशत, ८.५२ प्रतिशत, ८.०३ प्रतिशत र ६.६८ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८०÷८१ को चार महिनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आई रु.५० अर्ब ५७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३३.३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १४.५ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३०७.९ प्रतिशत र ४.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिनलगायतका वस्तुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भई रु.४७७ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १३७,४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८,८४१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १९६,७३५ र ८७,४२८ रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update