Mero Chitwan
फागुन २५ देखि चितवनमा फर्मा एक्स्पो

चितवन- चितवनमा यही फागुन २५ गतेदेखि नवौँ नेपाल फर्मा एक्स्पो आयोजना हुने भएको छ । प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको एक्स्पो मेडिकल सिटीका रुपमा विकास भएको चितवनमा गर्न लागिएको आयोजकले जनाएको छ । 

एक्स्पोेका संयोजक प्रभात रुङ्गटाले चितवनमा दुई वटा मेडिकल कलेजसहित ठूला चार वटा अस्पताल र अन्य २४ भन्दा बढी अस्पताल रहेको भन्दै चितवन मेडिकल सिटीको रुपमा विकास हुँदै गएको बताए । उनका अनुसार चितवन राम्रो कनेक्टिभिटी भएको ठाउँ भएकाले यहाँ मेडिकल र प्राविधिक व्यक्तिको उपस्थिति पनि राम्रो छ ।

यो एक्स्पोे प्रदर्शनी मात्रै नभए ‘नलेज डिष्ट्रिब्युसन’ समेत भएको उनको भनाइ छ । उनले भने, “ एक्स्पोेमा तीन दिनसम्म फर्मासिस्ट र मार्केटिङलाई तालिम हुन्छ । यहाँ सीपको आदानप्रदान गरिन्छ ।” 

एक्स्पोेका मिडिया संयोजक सन्तोष बरालले एक्स्पोेका लागि एक सय ५० वटा स्टल बुक भइसकेको बताए । एक्स्पोमा २० हजार हाराहारी प्राविधिकले अवलोकन गर्ने अनुमान गरिएको छ । उनले भने, “एक्स्पोेमा प्राविधिकसहित ठूलो सङ्ख्यामा सर्वसाधारणले अवलोकन गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।” नेपाली औषधिप्रतिको भ्रम चिर्नका लागि पनि एक्स्पोे फलदायी हुने उनको भनाइ छ ।
 
नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष महेश प्रधानले नेपालका औषधि अन्तर्राष्ट्रियस्तरका उपकरण र कच्चापदार्थबाट बन्छ भन्ने कुरा बुझाउन एक्स्पोे आयोजना गरिँदै आएको बताए । उनले भने , “नेपाली औषधि कुनै पनि विदेशी कम्पनीभन्दा गुणस्तरमा कमजोर छैनन्, हामीले प्रयोग गर्ने प्रविधि, उपकरण र कच्चा पदार्थ र विदेशीले प्रयोग गर्ने एउटै हुन् ।” नेपाली औषधि विदेशमा समेत निर्यात हुने गरेको भन्दै उनले विदेशीसमेत नेपालको औषधिप्रति रुचि राखेर एक्स्पोेमा आउने जानकारी दिए । 

रु ६० अर्बभन्दा बढी लगानी भएको नेपाली उद्योगले गत आर्थिक वर्षमा रु २९ अर्ब मात्रैको कारोबार गरेको उनले बताए । प्रधानले भने, “नेपाली उद्योगले नेपालका कूल मागको ९० औषधि उत्पादन गर्न सक्छन् ।” हाल नेपाली उद्योग ३५ देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालन हुनु परेको उहाँको भनाइ छ । नेपाली औषधि उद्योगलाई राज्यको प्रवद्र्धन र संरक्षणको खाँचो रहेको उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  २२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update