Mero Chitwan
नेपालमा कति छन् गरिब ? जीवनस्तरमा कस्तो छ सुधार ? [सर्वेक्षणको पूर्ण विवरणसहित]

काठमाडौं- नेपालमा २० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिबीको रेखामुनि रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (०७९/८०) अनुसार नेपालमा अझै पनि २०.२७ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको उल्लेख गरिएको हो ।

करिब १२ वर्षपछि प्रतिघर परिवारले उपभोग्य वस्तुमा गर्ने खर्चको आधारमा तथ्यांक सार्वजनिक गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले जनाए । उनका अनुसार मानिसहरुको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, साधनमाथिको पहुँच, मनोरञ्जनबाट वञ्चित हुनेहरु अझै पनि २० प्रतिशतभन्दा बढी पाइएको छ ।

सात प्रदेशमध्ये चार प्रदेशमा राष्ट्रिय गरिबीको दर बढी छ । सर्वेक्षणअनुसार सुदूरपश्चिम प्रदेश (३४ दशमलव १६), कर्णाली प्रदेशमा (२६ दशमलव ६९), लुम्बिनी प्रदेशमा ( २४ दशमलव ३५ प्रतिशत) र मधेश प्रदेशमा (२२ दशमलव ५३ प्रतिशत) छ । गण्डकी प्रदेशमा (११ दशमलव ८८ प्रतिशत), बाग्मती प्रदेशमा (१२ दशमलव ५९ प्रतिशत), र कोशी प्रदेशमा ( १७ दशमलव १९ प्रतिशत) रहेको छ ।

सर्वेक्षणमा कर्णाली प्रदेशमा भने गरिबीको संख्यामा सुधार हुँदै गएको देखाइएको पनि राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

फलफूल खानेको संख्या ३ प्रतिशतबाट बढेर ७ पुगेको छ । यसैगरी करिब २ प्रतिशत जनसंख्यासँग कार, २५ प्रतिशत जनसंख्यासँग मोटरसाइकल र २६ प्रतिशतभन्दा बढी नागरिकसँग रेफ्रिजेरेटर रहेको देखिएको छ ।

१२ वर्षअघि ६१ प्रतिशतमा रहेको टेलिफोन तथा मोबाइलको पहुँच ९३ प्रतिशत पुगेको छ । कुल उपभोग खर्चमा खाद्यको अंश भने घटेको छ भने गैरखाद्यमा बढेको छ । कुल आम्दानीको ५३ प्रतिशत खाद्यान्नको जोहोमा खर्च गर्ने गरिएको देखिएको छ । यस्तो खर्च १२ वर्षअघि ६२ प्रतिशत थियो । त्यस्तै आम्दानीको १२ प्रतिशत अंश घरभाडामा खर्च हुने गरेको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणको पूर्ण विवरण

 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  २२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update