Mero Chitwan
क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको कब्जा

काठमाडौं : क्यानडाविरुद्धको एक दिवसीय सिरिज नेपालको पक्षमा गएको छ । आज भएको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएसँगै नेपालले सिरिज कब्जा गरेको हो ।

क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रनको योगदान दिए । यस्तै, देव खनालले ७६ रन बनाए । नेपालका तीन जना ब्याटरले आजको खेलमा अर्धशतक प्रहार गरे । ओपनर अनिल साहले १९ बलमा ५० रन प्रहार गरेका थिए ।

यसअघि पहिलो विकेटका लागि क्यानाडाका नवनीत धालिवाल र आरोन जोनसनले ९४ रनको साझेदारी गर्दै टिमलाई राम्रो स्कोरतर्फ डोर्‍याएका थिए । ४६ रन बनाएका धालिवाललाई आकाश चन्दले आउट गरे । यसै खेल मार्फत ओडीआई डेब्यु गरेका आकाशको यो पहिलो एकदिवसीय विकेट हो ।

जोनसन ६५ रनमा रनआउट भए । तेस्रो विकेटका लागि परगट सिंह र निकोलस किर्टनले ५३ रनको साझेदारी गरे । परगट ३८ र निकोलस २० रनमा कप्तान रोहित पौडेलको सिकार भए ।

यसै सिरिजबाट ओडीआई डेब्यु गरेका सूर्य तामाङले हर्ष ठाकरलाई ३ रनमा आउट गर्दा क्यानडाले ३४ ओभर ५ बलमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

छैटैं विकेटका रुपमा क्यानाडाका दिलप्रीत बाज्वालाई कुशल मल्लले १९ रनमा आउट गराए । सातौं विकेट पनि कुशलले नै लिए । उनले साद बनि जफरलाई १ रनमा पभेलियन फर्काए । आठौं विकेट पवन सर्राफले लिए । उनले साहिद अमद्जाइलाई १३ रनमा आउट गरे । अन्तिम पाँच ओभरमा क्यानाडाले ४५ रन जोड्यो । अन्तिम बलमा सोमपाल कामीले श्रेयस मव्वालाई आउट गरे । मोव्वाले ४० रन बनाए ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update