
चितवन : एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार नारायणी नमुना मावि र मावि गंगानगरले विजयी सुरुआत गरेका छन् ।
भरतपुर १५ स्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा नारायणीले भानु मावि पहारिलोटारलाई १४५ रनको फराकिलो अन्तरमा तथा मावि गंगानगरले बालकुमारी माविलाई १० विकेटको फराकिलो अन्तरमा हराएका हुन् ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नारायणी नमुना मा विले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ८५ रनको विशाल योगफल तयार गर्यो । नारायणीका लागि ओपनर आयुष गिरी र मध्यक्रममा राहुल कुशवाहाले अर्धशतकीय इनिङस खेले । ५९ बल खेलेका राहुल ७ चौका र १ छक्कासहित ६९ रनमा नटआउट रहे । ५१ बल खेल्दै आयुषले ७ चौकाको मद्धतमा ५८ रन बनाए । बलिङमा अंकित बिश्वकर्मा र गिरी बहादुर नेपालीले समान १ विकेट लिए । १ सय ८६ रनको लक्ष्य पछ्याएको भानु मावि ९ दशमलव ३ ओभरमा ४० रनमा अलआउट भयो । भानुका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । खेलको प्लेयर अफ द म्याच नारायणीका राहुल कुशवाहा भए ।
यस्तै अर्को खेलमा ३७ रनको झिनो लक्ष्य पछ्याएको मावि. गंगानगरले बिना कुनै विकेटको क्षतिमा ४ ओभरमा पुरा गर्यो । गंगानगरका सुजन रानाभाट १६ र राज बिश्वकर्मा १३ रनमा नटआउट रहे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बालकुमारी मावि. ९ दशमलव ५ ओभरमा ३६ रनमा अलआउट भयो । बालकुमारीका कुनै पनि ब्याटरले दोहोरो आँकाडामा रन छुन सकेनन् । बालकुमारीलाई सस्तैमा समेट्ने क्रममा गंगानगरका विश्वास तामाङले ४, सचिन महतोले ३ र अरुण राना मगरले २ विकेट निकाले । ३ दशमलव ५ ओभर बलिङ गर्दै १५ रन खर्चिएर ४ विकेट लिएका गंगानगरका विश्वास तामाङ खेलको प्लेयर अफ द म्याच चुनिए ।नारायणी नमुना मावि र मावि गंगानगर जारी एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिग चरणमा प्रवेश गरेका छन् ।
भरतपुर महानगरपालिकाको आयोजनामा संचालनमा भैरहेको प्रतियोगितामा १० सामुदायिक र १० संस्थागत गरी कुल २० विद्यालयको सहभागीता छ । २२ फागुनसम्म चल्ने प्रतियोगिता नकआउट कम राउण्ड रोबिन लिगका आधारमा खेलाइनेछ । राउण्ड रोबिन लिगका लागि छानिएका १० टोलीलाई २ समुहमा विभाजन गरी आफ्नै समूहमा लिग खेलाइनेछ । मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रतियोगितामा प्राविधिक सहयोग चितवन जिल्ला क्रिकेट संघले गरेको छ ।