Mero Chitwan
६ महिनामा भित्रियो ७ खर्ब ३३ अर्ब रेमिटेन्स

काठमाडौं । गत आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिटेन्स भित्रिएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २५ प्रतिशतले बढी ७ खर्ब ३३ अर्ब रुपैयाँ भित्रिएको छ । 

आज राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी रिपोर्टमा आयातमा आएको कमी र रेमिट्यान्समा भएको वृद्धिका कारण सोधनान्तर बचतको स्थिति र वैदेशिक मुद्रा सञ्चिति बढेको देखिएको छ । 

आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा आयात ३.१ प्रतिशतले कमी आई ७ खर्ब ६८ अर्ब १७ करोडमा खुम्चेको छ । पुस मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोडले बचतमा रहेको थियो । 

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई २०८० पुस मसान्तमा १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ । 

विदेश पढ्न जानेहरूबाट भने चालु आर्थिक वर्षको ६ महिनामा गत वर्षको तुलनामा २३ अर्ब बढी रकम बाहिरिएको छ । अघिल्लो वर्षको पुस मसान्तसम्म ३५ अर्ब ३६ करोड बाहिरिएकोमा ५८ अर्ब ९५ करोड बाहिरिएको छ । 

 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update