Mero Chitwan
संसद्को हिउँदे अधिवेशन आजदेखि, सरकारले बिजनेस नदिए संसद् ठप्प पार्ने एमालेकाे रणनीति

काठमाडौं-संघीय संसद्को हिउँदे अधिवेशन आज सुरु हुँदै छ । संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक अपराह्न ४ बजे बोलाइएको छ ।

संसद् सचिवालयले दुवै बैठकका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ । सचिवालयले यस पटकदेखि कानुन निर्माणलाई  प्रभावकारी र चुस्त बनाउन पाक्षिक रूपमा क्यालेन्डर बनाएर अधिवेशन सञ्चालन गर्ने तयारी गरेको छ ।  हरेक १५-१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन हुनेछ ।

सचिवालयले प्रतिनिधिसभाको आजको बैठकका लागि राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ टेबुल गर्ने कार्यसूची तय गरेको छ । यस्तै, अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व -पहिलो संशोधन)  २०८० पेस गर्ने तालिका छ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश पेस गर्ने कार्यसूची  छ । 

संसद्‌ अधिवेशनका लागि विपक्षी दलहरु भने आ-आफ्नै रणनीतिको तयारीमा छन् ।  प्रमुख प्रतिपक्षी एमालेले सरकारले बिजनेस नदिए संसद् नै ठप्प पार्नेसम्मको रणनीति बनाएको छ । विगतमा सरकारले बिजनेस नदिँदा संसद् प्रभावकारी हुन नसकेको आरोप एमाले र सभामुख देवराज घिमिरले लगाउँदै आएका थिए । 

राप्रपाले पनि सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताएको छ भने यो अधिवेशनमा पनि हिन्दु राज्यको मुद्दा उठाउने योजना बनाएको छ । 

 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update