Mero Chitwan
१  खर्ब ५६ अर्ब  घाटा खाएर किन बेच्दैछ एनसेलको ८० प्रतिशत शेयर आजियाटाले ?

काठमाडौं । पटक-पटक कर छली प्रकरणमा मुछिँदै आएको एनसेलको ८० प्रतिशत शेयर किनेको भन्दा निकै न्यून मूल्यमा बिक्री गर्ने तयारी आजियाटाले गरेपछि यसपटक पनि कर छल्न खोजेको आशंका गरिएको छ ।

एनसेलमा भएको ८० प्रतिशत शेयर आजियाटाले २०७२ चैत २९ मा नर्वेली कम्पनी टेलियासोनेराबाट १ अर्ब ३६ करोड डलरमा खरिद गरेको थियो । जुन तत्कालीन विनिमयअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँ थियो । अहिले सोही शेयर आजियाटाले बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई ६ अर्ब ६६ करोड रुपैयाँमा बिक्री गर्ने तयारी गरेको हो । ८ वर्षअघि खरिद गरेको भन्दा निकै न्यून मूल्यमा सेयर बेचेर बाहिरिन थालेपछि आजियाटाले ठूलो कर छलिको प्रपन्च रचेको विज्ञको बुझाइ छ । कर प्रशासन चुस्त दुरुस्त नहुँदा आजियाटा त्यसको फाइदा उठाउन लागेको उनीहरुको भनाइ छ ।

दूरसञ्चार कम्पनीले स्वामित्व खरिद बिक्री गर्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति लिनुपर्छ । तर अहिलेसम्म अनुमति नलिइएको प्राधिकरणको भनाइ छ । शेयर खरिदबिक्रीको कारोबार पनि विदेशमै गरिएको जनाइएको छ । विदेशी कम्पनीलाई आफ्नो सम्पत्ति बेच्ने अधिकार भए पनि राज्यलाई नोक्सानी हुनबाट रोक्न नियामक चनाखो हुनुपर्ने वाणिज्य कानूनका जानकार वरिष्ठ अधिवक्ता गान्धी पण्डित बताउँछन् ।

२०७२ मा एनसेलको स्वामित्व बिक्रीबापत् ६२ अर्ब ६३ करोड ४९ लाख रुपैयाँ लाभकर तिर्नुपर्ने गरी ठूला करदाता कार्यालयले मूल्यांकन गरेपछि एनसेलले अन्तर्राष्ट्रिय निकायमा समेत मुद्दा दायर गरेको थियो । अन्तर्राष्ट्रिय मध्यस्थकर्ताले पनि गत जुनमा सरकारको पक्षमा अन्तिम निर्णय दिएको थियो । 'स्टेट अफ ट्याक्स जस्टिस' नामक संस्थाले सन् २०२२ मा गरेको अध्ययनले विश्वभरका बहुराष्ट्रिय कम्पनी ४ सय ८० अर्ब डलरभन्दा बढीको करछलीमा संलग्न भएको देखाएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  २२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update