Mero Chitwan
आर्थिक संकटले चितवनमा साउनयता १४० उद्योग बन्द

चितवन : घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो ।
 
 ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ वटा सेवामूलक उद्योग बन्द भएका हुन् । सोही अवधिमा ४० वटा उद्योगले नामसारी तथा ११ वटा उद्योगले ठाउँसारी गरेका छन् ।
 
  चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई सय ५८ वटा उद्योग दर्ता भएका छन् । साना उद्योगतर्फ ती फर्महरु दर्ता भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता हुने क्रम न्यून र बन्द हुने तथा बिक्री हुने क्रम तीव्र भएको पाइएको कार्यालयले जनाएको छ ।  व्यावसायिक फर्मतर्फ दुई सय ७३ वटा नयाँ दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा व्यवसाय बन्द गर्नेको सङ्ख्या चार सय ३४ थियो । 

गत आर्थिक वर्ष २०७९/८० मा आठ सय ५९ वटा उद्योग दर्ता भएकामा दुई सय ६९ वटा बन्द भएका थिए ।   वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको कार्यालयको भनाइ छ ।  आर्थिक मन्दी तथा कोरोना असरका कारण समेत साना उद्योग बन्द हुने अवस्थामा पुगेको जनाइएको छ । 
 
  कार्यालयमा दर्ता हुन आउने उद्योगहरु अधिकांश महिलाका नाममा दर्ता हुने गरेका छन् । राजस्वमा ५० प्रतिशत छुट हुने भएकाले महिलाका नाममा दर्ता गर्नेहरुको सङ्ख्या बढेको हो ।  चालु आर्थिक वर्षमा एक सय ३३ जना महिला उद्यमीले उद्योग दर्ता गराउँदा पुरुषका नाममा एक सय ११ वटा दर्ता भएका छन् ।। 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update