Mero Chitwan
के सम्भव छ दरबार हत्याकाण्डको छानबिन ?

काठमाडौं–पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक दलहरुलाई आरोप लगाउँदै अभिव्यक्ति दिन थालेपनि नेताहरुले पनि त्यसको प्रतिरक्षा गर्न थालेका छन् । 
वीरगन्जमा हालै भएको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रले २०५८ मा राजदरबारमा भएको घटनामा राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल छरिएको भन्दै आरोप लगाएका थिए । 

उनले भनेका थिए, ‘“हामी र हाम्रो परिवारमाथि घातक प्रहारहरु पनि गरिए । आखिर सत्य सधैं सत्य नै हुन्छ । असत्यको विजय कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं । यो अन्यायपूर्ण मात्र होइन, दूर्भाग्य पनि हो ।’

त्यसको जवाफमा पूर्वप्रधानमन्त्री एवं नेकपाल एमालेका अध्यक्ष केपी शर्मा ओलीले दरबार हत्याकाण्ड आधुनिक समयको भयानक वंशविनाश भएको बताएका छन् । दरबार हत्याकाण्डको प्लट पहिल्यै तयार पारेर घटना भएको उनको दाबी छ । 

कान्तिपुर टेलिभिजनको कार्यक्रम इट्स माई शो मा कुरा गर्दै एमाले अध्यक्ष ओलीले २०४६ सालको जनआन्दोलनपछि संवैधानिक राजतन्त्र कायम रहेकामा २०५८ सालमा जघन्य र अकल्पनीय दरबार हत्याकाण्ड भएको बताएका छन् । सबैभन्दा धेरै सुरक्षा घेरामा रहेको राजाको वंशविनाश हुनु आधुनिक समयको भयानक षड्यन्त्र हो भन्दै उनले राजदरबार हत्या काण्डको प्लट पहिल्यैदेखि तयार पारेर राखिएको र सुटिङ हुनेबित्तिकै रिलिज भएको दाबी गरे । ओलीसँग गरिएको कुराकानी शनिबार प्रसारण हुने कान्तिपुर टेलिभिजनले जनाएको छ । 

kp-oli-1706585435.JPG

नेता ओलीले केही दिनअघि पनि दरबार हत्याकाण्ड षडयन्त्रपूर्ण घटना भनी टिप्पणी गरेका थिए । 

यता, प्रधानमन्त्री पुष्पकमल दाहालले पनि हिजो सिमरामा सञ्चारकर्मीसँग पूर्वराजा ज्ञानेन्द्रले बोल्नै नहुने कुरा बोलेको उल्लेख गर्दै दरबार हत्याकाण्डबारे छानबिन हुने बताएका छन् । 

पूर्वराजा ज्ञानेन्द्र यतिखेर देशदौडाहामा छन् । उनले आफ्ना सम्बोधनहरुमा राजनीतिक दलहरुले निषेधको राजनीति गरेको, देशको आर्थिक स्थिति नसुध्रिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन् । 

darbar-1706585353.jpg
दरबार हत्याकाण्ड भएको स्थान त्रिभुवन सदनलाई भत्काएर अहिले यस्तो अवस्थामा छ ।

पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिलाई काउन्टर दिन शीर्ष नेताहरुले दरबार हत्याकाण्डको छानबिन अघि बढाउने कुरा गरे पनि घटनाको २२ वर्षपछि त्यो सम्भव नरहेको विश्लेषण गरिन्छ । घटनास्थल र घटनाका प्रमाणका रुपमा रहेको त्रिभुवन सदन पूर्वराजा ज्ञानेन्द्रले त्यतिखेर नै भत्काइसकेका छन् भने गणतन्त्रपछि नारायणहिटी दरबारलाई सरकारकाले संग्रहालयका रुपमा सर्वसाधारणका लागि खुला गरेको छ । २०५८ जेठ १९ मा हत्याकाण्ड भएको केही दिनपछि गठित तत्कालीन सभामुख तारानाथ रानाभाट नेतृत्वको छानबिन समितिले घटनामा तत्कालीन युवराज दीपेन्द्रको संलग्नता रहेको औंल्याएको थियो । 

अहिले राजनीतिक दलका नेताहरुले बेला बेलामा दरबार हत्याकाण्डको छानबिनको कुरा गर्दै आएपनि राजनीतिक वक्तव्यबाजी र पूर्वराजा तर्साउने औजारका रुपमा  मात्र सीमित हुने गरेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update