Mero Chitwan
लुम्बिनी प्रदेश सम्मेलनमा देउवाको दाबी : कांग्रेसको लहर अब सातै प्रदेश पुग्छ

बुटवल - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनीबाट सुरु भएको कांग्रेसको लहर अब सातै प्रदेश हुँदै देशभर पुग्ने बताएका छन् ।

बुटवलमा आयोजित नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनमा बोल्दै सभापति देउवाले जस्तासुकै देशका अफ्ठ्यारा परिस्थितिलाई सामना गरेको कांग्रेस अब पनि नडगमगाउने बताए । सभापति देउवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु भएको कांग्रेस सम्मेलनले विकास, संवृद्धि र सहिष्णुता फैलाउनुपर्ने बताए । उनले कांग्रेस राम्रो हुँदा जनता राम्रो हुने बताउँदै जनतामा निराशा नछर्न पनि आग्रह गरे ।

deuba1-1701533605.jpg

सभापति देउवाले पार्टीभित्र भाषण गर्ने भन्दा काम गर्नेको आवश्यकता रहेको बताए । उनले केन्द्रीय सदस्य चन्द्र भण्डारीलाई अब राम्रो काम गरेर देखाउन चुनौती दिएका छन् । राम्रो कुरा गर्ने र काम गर्ने विषय फरक भएको बताउँदै काम गर्यौं भने भाषण गरेर बुझाउन नपर्ने बताए ।

यसअघि सम्मेलनमा बोल्दै नेता चन्द्र भण्डारीले शेरबहादुर अब विधानत सभापति बन्न नसक्ने र गुट चलाएको भन्दै चर्को आलोचना गरेपछि पार्टी सभापतिले आफ्नो सम्बोधन भण्डारीमा केन्द्रीत गरेका हुन् । सभापति देउवाले ठूलो दुर्घटनामा परेर बाचेकाले उहाँका कुरा नराम्रो नमाने पनि अब भाषण गर्नु साटो राम्रो काम गर्न आग्रह गरे ।

नेता भण्डारीले सभापति देउवा अब विधानत सभापति बन्न नसक्ने बताउँदै पाटीमा गुट चलाउन छोडी राम्रो काम गरेर देखाउन आग्रह गरेका थिए ।

उनले कांग्रेस नेतृत्वले गुट चलाउँदा तीन तहमै धेरै सिट जितेर पनि कमजोर बनेको बताएका थिए । उनले अब कांग्रेस दुई महामन्त्रीको साथ लिएर शेखर कोइरालाले सम्हाल्दा उचित हुने इंगित गर्दै देउवालाई पछाडि हट्न आग्रह गरेका थिए ।

सम्मेलनमा बोल्दै महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले अब पाटीभित्र र बाहिर अवस्था र व्यवस्था फेरेर नागरिकलाई निराशा र आक्रोशबाट निकाल्नुपर्ने बताए ।

कांग्रेसले संघीयतापछि पहिलो पटक लुम्बिनी प्रदेश सम्मेलन आयोजना गरेको हो । आइतबारसम्म चल्ले सम्मेलनको बन्दसत्रमा ७ सय ५० प्रतिनिधि सहभागी छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update