काठमाडौं । नेपाल सुपर लिगमा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा झापा एएफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ ।
दशरथ रंगशालामा हुने खेल दिउँसो एक बजे सुरु हुनेछ । आफ्नो दोस्रो खेल खेल्न लागेको झापा अंकविहीन छ । उसले यसअघिको खेलमा स्पोर्टिङ इलामसँग एक शून्य गोलको हार बेहोरेको थियो ।
राष्ट्रिय टिमका फरवार्ड अञ्जन विष्टको कप्तानीमा रहेको झापा उत्कृष्ट पुनरागमन गर्दै जारी सिजन पहिलो जित हात पार्ने लक्ष्यमा छ । पोखरा अपराजित छ । दुई खेलमा एकमा जित र एकमा हार बेहोरेको उसको चार अंक छ । अघिल्लो खेलमा पोखराले ललितपुर सिटी एफसीसँग गोल रहित बराबरी खेलेको थियो ।
आजै हुने दोस्रो खेलमा धनगढी एफसी र ललितपुर आमने सामने हुनेछन् । शीर्ष दुई टिमबीचको खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । दुवै टोली अपराजित छन् । शीर्ष स्थानको धनगढीको दुई खेलबाट ६ अंक छ । दोस्रो स्थानको ललितपुरको ४ अंक छ ।
धनगढी जित हात पार्दै तालिकामा अंक दुरी बढाउने योजना हुनेछ । ललितपुरले जित हात पारे शीर्ष स्थानमा उक्लनेछ । यसअघिको खेलमा धनगढीले बुटवल लुम्बिनीलाई पराजित गर्दा आफिज ओलावालेले दोस्रो हाफको इन्जुरी समयमा गोल एक मात्र निर्णायक गोल गरेका थिए ।