Mero Chitwan
राष्ट्रिय सभा निर्वाचन : यी हुन् विजयीहरु

काठमाडौं–आज भएको राष्ट्रिय सभा निर्वाचन अधिकांश स्थानमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

प्राप्त परिणामअनुसार लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसकी विष्णुदेवी सापकोटा विजयी भएका छन् । सुवेदीले ५४३५ र सापकोटाले ५४३५ मतभार प्राप्त गरे ।

कर्णाली प्रदेशबाट पनि तीनै जना सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जसमा नेपाली कांग्रेसबाट कृष्णबहादुर रोकाया, एकीकृत समाजवादीकी सावित्री मल्ल र माओवादी केन्द्रका विष्णुबहादुर विक छन् । जसमा रोकायले १५०, मल्ल र विकले समान १४४-१४४ मत ल्याई विजयी भएका हुन् ।

यस्तै, कोशी प्रदेशमा गठबन्धनकी माओवादी उम्मेदवार चम्पा कार्की पराजित भए पनि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् । कोशीमा नेकपा एमालेकी रुक्मिणी कोइराला ५०८६ मतभारसहित विजयी भएकी छिन् । उनले माओवादी केन्द्रकी कार्कीलाई हराएकी हुन् । 

यस्तै, बागमती प्रदेशमा सत्तारुढ गठबन्धनका चारै उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी र जितजंग बस्नेत, नेकपा माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीबाट घनश्याम रिजाल विजयी भएका हुन् । पुडासैनीले ६ हजार ६२२, बस्नेतले ६ हजार ५३१, अधिकारीले ६ हजार ३८३ र रिजालले ६ हजार ५१२ मतभार प्राप्त गरे ।

गण्डकी प्रदेशमा पनि गठबन्धनका तीनै उम्मेदवार विजयी भएका छन् । कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् । श्रेष्ठले ३ हजार ८०८, परियारले तीन हजार ७७९ र शर्माले तीन हजार ६६० मतभार पाए । 

यसैगरी मधेश प्रदेशको दुई सिटमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भए । ढुंगाना अन्य र महिलामा जसपाकी चौधरी विजयी भएका हुन् । ढुंगानाले सात हजार ३७० मतभार प्राप्त गरे । चौधरीले सात हजार ९२९ मतभारसँगै विजयी भइन् ।

 सुदूरपश्चिम प्रदेशमा पनि सत्ता गठबन्धनका तीनै उम्मेदवार विजयी भए । महिला क्लस्टरमा माओवादी केन्द्रकी रेणु चन्दले चार हजार ४५३ मतभारसँगै विजयी भइन् । अपांगतर्फ कांग्रेसका नारायणदत्त भट्टले चार हजार ४१९ मत पाएर विजयी भए । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहराले चार हजार ३४७ मत पाएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update