Mero Chitwan
गैँडा गणना आगामी चैतमा

चितवन । बजेट अभावका कारण गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना यस वर्ष आनुवंशिक (जेनेटिक) विधि वा हरेकको पहिचान (आईडिबेस)को आधारमा गरिने भएको छ ।

प्रतिनिधिसभा निर्वाचनपछि आगामी चैत लागेसँगै गणना गर्ने तयारी गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक चार÷चार वर्षको अन्तरमा गर्दै आएको गैँडा गणना गतवर्ष रोकिएको थियो । यसवर्ष बाघ गणनासमेत गर्ने वर्ष परेकाले फरक विधिबाट गैँडा गणना गर्न लागिएको हो । कम खर्च र कम समयमा गर्ने गरी फरकविधि अपनाएर गणना गर्ने तयारी गरिएको जनाइएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार यस अघिका वर्षमा ब्लक छुट्याएर एकै साथ ठूलो सङ्ख्यामा हात्ती र मानवीय जनशक्तिको प्रयोग गरेर गैँडा गणना गरिँदै आएको थियो । यसरी गैँडा गणना गर्दा लामो समय र खर्च लाग्ने भएकाले यसवर्ष फरक विधि अपनाउन लागिएको हो । आचार्यले दुईवटा विधिमध्ये कुन विधि अपनाउने भन्ने बारेमा केही दिनमा टुङ्गोमा पुग्ने बताउनुभयो ।

आनुवंशिक विधिबाट गैँडा गणना गर्दा वैज्ञानिक र दीर्घकालीन दृष्टिले उत्तम हुने उहाँको भनाइ छ । नेपालमा यो विधिबाट हिउँ चितुवाको मात्रै गणना गरिँदै आएको छ । गणना गर्दै आएको विधिभन्दा कम खर्चिलो र सुरक्षित हुने उहाँको भनाइ छ । विगतमा ब्लक छुट्याएर प्रत्यक्ष गणना विधि प्रयोग गरिँदै आएको थियो ।

यो विधिबाट गणना गर्दा निकै खर्चिलो र जोखिमपूर्ण हुने गर्छ । आचार्यका अनुसार सन् २०२१ मा गैँडा गणना गर्दा रु तीन करोड हाराहारीमा खर्च भएको थियो । सो क्रममा एक जना प्राविधिक हात्तीबाट लडेर गम्भीर घाइते भएका थिए । यसरी गणना गर्दा तीन साता समय लाग्ने गर्दछ । त्यसमा ठूलो सङ्ख्यामा हात्ती लगायतका सवारीसाधनसहित प्राविधिक जनशक्ति परिचालन गर्नुपर्ने हुन्छ । आचार्यले अहिलेसम्म प्रयोग गरिएको प्रत्यक्ष र ‘फोटो आइडी’ विधिबाट भन्दा आनुवंशिक विधिबाट गणना गर्दा वैज्ञानिक आधारमा सबैले मान्ने विधि भएकाले यसतर्फ विभागको ध्यान गएको बताउनुभयो ।

आनुवंशिक विधिबाट गणना गर्दा जनशक्ति परिचालन गरी गैँडाको गोबर (मल) सङ्कलन गरेर प्रयोगशालामा डिएनए परीक्षणबाट सङ्ख्या र लिङ्ग पहिचान गर्ने उहाँले बताउनुभयो । त्यसैगरी आनुवंशिक वा हरेकको पहिचानको आधारमा आइडीबेसमा गणना गर्ने विषयमा बहस भइरहेको छ । यो विधि पनि उत्तम विधि मानिन्छ । जसमा निकुञ्जलाई ब्लकमा विभाजन गरेर त्यसभित्र गैँडाको हुलियाको आधारमा गणना गरिन्छ । आचार्यका अनुसार गैँडाको आँखा, नाक, छालाको फोल्डिङ्, छालाको चोट, धब्बालगायत हेरेर गणना गर्ने गरिन्छ । बर्दिया, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्जमा सहजै गणना गर्न सकिने भए पनि चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्या धेरै भएकाले गणनामा कठिनाइ हुने गर्छ ।

यस निकुञ्जलाई विगतमा १८ वटा ब्लकमा विभाजन गरेर गणना गर्ने गरिएको थियो । नयाँ विधि अपनाउने भएमा सोही ब्लक वा फरक बनाएर पनि गणना गर्न सकिने आचार्यले बताउनुभयो । पुरानो विधिबाट गर्दा एउटै टोलीले सबै ठाउँमा गणना गर्छ भने नयाँ विधिबाट गर्दा ब्लक–ब्लकमा फरक टोलीले गणना गर्ने गर्दछ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि गैँडा गणना रोकिएको थियो । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागेको हो । सन् २०२१ को गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए ।

सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिब १०० को हाराहारीमा झरेको थियो । नेपालमा सन् १९५० को दशकमा ८०० गैँडा रहेको अनुमान गरिन्छ । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाको सङ्ख्या वृद्धि भएर ३८ र शुक्लाफाँटमा १८ पुगेको थियो । 

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  २२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update