काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिक करारपत्र सार्वजनिक गरेको छ । सो पार्टीले नागरिकको मतलाई लगानीको रूपमा परिभाषित गर्दै पाँच वर्षभित्र ठोस प्रतिफल दिने वाचासहित आज नागरिक करार अवधारणा सार्वजनिक गरेको हो ।
आफ्नो चुनावी अभियानका क्रममा ‘मतदातासँग करार गर्ने’ नयाँ अभ्यासको थालनी गर्दै रास्पापाले सो नागरिक करारपत्र देशभरका उम्मेदवारलाई वितरण गर्ने भएको छ । करारपत्रमा पार्टीका पाँच प्राथमिकता र लक्ष्य निर्धारण गरिएका छन् । पहिलो प्राथमिकतामा सदाचार र असल शासन अन्तरगत सरकारी सेवाको सर्वव्यापी डिजिटल डेलिभरीसहित ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचकाङ्कमा भारी सुधारको लक्ष्य तोकिएको छ ।
दोस्रो प्राथमिकतामा मध्यमवर्गीय विस्तार छ । यस अन्तरगत औसत प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने र कुल गार्हस्थ उत्पादनको आकार १०० अर्ब डलर पुर्याउने लक्ष्य निर्धारण गरिएको छ । जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित एकीकृत सामाजिक सुरक्षाको ग्यारेन्टी पनि रास्वपाले गरेको छ । यसैगरी, आधुनिक बैङ्किङसहित वित्तीय सेवामा सबै नागरिकको पहुँचलगायत सख्त नियमनभित्रको सहकारी र लघुवित्त, मिटर ब्याज शोषणको अन्त्य गर्ने करारपत्रमा उल्लेख छ ।
नागरिक करारपत्रमा भनिएको छ, “वंशजको नागरिकताको निरन्तरता र सार्वभौम डायस्पोरा फण्डको कार्यान्वयन गरिनेछ, तपाईँहरूले हामीलाई एकल बहुमत दिलाएको अवस्थामा पनि करार बमोजिमका सर्त डेलिभरीसहित पाँच वर्षभित्र बुझाउन नसकी तपाईँ नागरिकलाई मर्का पर्न गएमा संविधान, मौजुदा कानुन र सामाजिक करारअनुसार हाम्रो ‘राजनीतिक नैतिकता र पद’बाट अर्को पटकको निर्वाचनमा सजाय दिई असूल उपर गरी लिनुहोला । यसमा हाम्रो पार्टीका सम्पूर्ण सदस्यको मन्जुरी छ ।”
रास्वपाले १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासमेत जनाएको छ । सूचना प्रविधि, निर्माण, पर्यटन, कृषि, खनिज, उद्योग र सेवा व्यापारमा ती रोजगारी सिर्जना गरिने करारपत्रमा उल्लेख छ । यस्तै, १५ हजार मेगावाट विद्युत् जडित क्षमता र ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माणको लक्ष्य छ । दश राष्ट्रिय महत्वका सिग्नेचर आयोजना सम्पन्न गर्ने करारपत्रमा उल्लेख छ । रास्वपाले विदेशमा बस्ने नेपालीलाई अनलाइन मताधिकार दिलाउने वाचा गरेको छ ।


