काठमाडौं। राष्ट्रियसभाको १८ सदस्यका लागि आइतबार भएको निर्वाचनमा ९ स्थानमा नेपाली कांग्रेस र ८ स्थानमा नेकपा (एमाले) र एक स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएका छन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा अब कांग्रेस २५ सिटसहित पहिलो दल बनेको छ । कांग्रेसका हाल बहाल १६ मा ९ सांसद थपिएका हुन् ।
शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापति हुँदा चुनावी तालमेल गर्ने नीतिअनुसार नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग गठबन्धन गरेर उम्मेदवारी दिएका थिए । सातवटै प्रदेशको सदरमुकाममा बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान भएको थियो ।
कोशी प्रदेशबाट नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । नेकपा (एमाले) का रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित हुनुभएको छ ।
त्यसै गरी मधेस प्रदेशबाट नेपाली कांग्रेसका धर्मेन्द्र पासवान, रञ्जित कर्ण, लोसपाका महन्थ ठाकुर र नेकपा (एमाले) का रेखाकुमारी झा निर्वाचित हुनुभएको छ ।
वागमती प्रदेशबाट नेपाली कांग्रेसका गीता देवकोटा, नेकपा (एमाले) का प्रेमप्रसाद दंगाल, गण्डकी प्रदेशमा नेकपा एमालेका सम्झना देवकोटा र नेपाली कांग्रेसका जगत तिमिल्सिना विजयी हुनुभयो । लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेसका वासुदेव जंगली, चन्द्रबहादुर केसी र नेकपा (एमाले) का रामकुमारी झाँक्री निर्वाचित हुनुभएको छ ।
कर्णाली प्रदेशबाट नेपाली कांग्रेसका ललितजंग शाही , नेकपा एमालेका मीनासिंह रखाल, सुदूरपश्चिम प्रदेशबाट नेकपा (एमाले) का लीलाकुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती निर्वाचित हुनुभएको छ ।
स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेशसभाका सदस्यहरू मतदाता रहने सो निर्वाचनमा ९५ दशमलव ६८ प्रतिशत मतदान भएको थियो । मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मतदाताहरू अनुपस्थित रहेका थिए ।


