Mero Chitwan
रविको मुद्दा फिर्ता महान्यायाधिवक्ता कार्यालयको कलंकित कदम : ओली

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिएर महान्यायाधिवक्ता कार्यालय इतिहासम्मका लागि कलंकित बनेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा बिहीबार आयोजित ४२ औँ पिस्कर शहीद स्मृति दिवसको कार्यक्रममा अध्यक्ष ओलीले अहिले विश्वभरजस्तै शासन नेपालमा पनि चलिरहेको भन्दै थिति र विधिको शासन देशमा नभएको बताए ।

उनले अहिले मुलुकमा सुशासन र थिति नभएको भन्दै कसैलाई ठगे पनि मुद्दा फेर्ने वा आममाफी पाइने भन्दै व्यंगात्मक टिप्पणी गरे । ‘आज थिति र विधिको शासन होइन, जसको लाठी, त्यसको भैंसी जस्तो शासन नेपालमा पनि स्थापना भएको छ । महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलंकित भएको छ । लज्जाको विषय बनेको छ ।’

रविको मुद्दा फिर्ता लिएर ठगिएको पैसा महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ? भन्दै उनले प्रश्न गरे ।

उनले जेन–जी विद्रोहका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुरमाथि भौतिक आक्रमण हुँदा पार्टीकै नेताहरु समर्थनमा उत्रिएको आरोप पनि लगाए । 'नेपाली सरकार, नेपाली संस्कृति, नेपाली अर्थतन्त्र र नेपाली सभ्यताका कुरा गर्छ भने घरबाट निस्किन नदिने, त्यसलाई मार्ने, कुट्ने, काट्ने काम गरिन्छ,' उनले भने, '८२ वर्षका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि भौतिक आक्रामण भयो । यति असभ्य पनि हुन्छ समाज ? उनकै पार्टीका नेता हुँ भन्नेहरु त्यसको समर्थनमा कराए, विरोधमा कोही बोलेनन् । सहानुभूतिसम्म व्यक्त गरेनन्, कहाँ पुग्यो नेपाल ?'

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  २३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update