काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्वमा गगन थापालाई सभापति बनाउने गरी प्रस्ताव अघि सारेको छ ।
निर्वाचन प्रक्रिया भने बुधबार बिहान सुरू हुनेछ । त्यसअघि संस्थापन पक्षसँग सहमतिका लागि मंगलबार राति पनि थप प्रयास भने चलिरहने छ । बुधबार बिहानसम्म सहमति भएन र विशेष महाधिवेशनबाट निर्वाचनले नयाँ नेतृत्व चुन्यो भने नेपाली कांग्रेस विभाजन हुनसक्छ।
संस्थापनको असहमतिकै बीच चलिरहेको विशेष महाधिवेशनको तेश्रो दिन दिनभर भएका सहमतिका प्रयास सफल नभएपछि साँझ बन्द सत्रको हलमा महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई सभापतिमा अघि सार्ने प्रस्ताव राख्नुभएको हो । अर्का महामन्त्री थापालाई निर्वाचनमा सभापतिको उम्मेदवार बनाउने प्रस्ताव गरेका शर्माले आफू महामन्त्रीमै दोहोरिने बताउनुभयो ।
सहमतिमै अन्तरिम नेतृत्व चुन्न पनि उहाँले प्रतिनिधिहरूसँग आग्रह गर्नुभयो । महामन्त्री गगन थापाले हलले गर्ने निर्णय मान्य हुने बताउँदै कांग्रेसलाई झन बलियो बनाउने गरी आफूहरू अघि बढ्ने बताउनुभयो । सहमतिमा लागि पार्टी सभापति शेरबहादुर देउवासहितसँग वार्ता र संवाद चलिरहेको जानकारी दिँदै उहाँले हलले चाहेमात्रै सहमतिमा जाने अन्यथा विशेष महाधिवेशन प्रतिनिधिकै निर्णय कार्यान्वयन हुने बताउनुभयो ।
विशेष महाधिवेशन गरेर आफूहरूले विद्रोह गरेको बताउँदै महामन्त्री थापाले भागबन्डाको भ्रम छरेर महाधिवेशनलाई अपमानित गर्न खोजिएको भन्दै आपत्ति समेत जनाउनुभयो । महाधिवेशनले दुबै महामन्त्रीका प्रतिवेदनलाई पारित गरेको छ । अब निर्वाचन प्रकृया भने बुधबार बिहान ८ बजेसम्मलाई स्थगित भएको छ । मंगलबार ९ बजेबाट सुरु गर्ने भनिएको मतदान सहमति जुटाउने प्रयासकै लागि बुधबारसम्म सारिएको हो ।


