काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशनमा सहभागी भई हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या सत्तरी प्रतिशत पुर्याउने दाबी गरेका छन् ।
सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले आइतबार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरूको संख्या २ हजार ६ सय ६२ रहेकोमा सोमबार ६.२४ प्रतिशतले बढेको बताउनु भयो ।
संस्थापन पक्ष विधानले नचिन्ने भन्दै पार्टीका नेताहरुलाई बन्दसत्रमा सहभागी हुन उहाँले आह्वान गर्नुभयो । उहाँले विशेष महाधिवेशन पक्षधर महाधिवेशन प्रतिनिधिहरूको संख्या सत्तरी प्रतिशत पुर्याएर देखाइदिने बताउनु भयो । मंगलबार नेतृत्व चयनका लागि बन्दसत्र सुरू हुने पनि उहाँले जानकारी दिनुभयो ।
भोलि ९ बजे बन्दसत्र सुरू हुनेछ भने भोलि निर्वाचन हुनेछ ।
यसैबीच नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरूको छलफलले काठमाडौंमा जारी दोस्रो विशेष महाधिवेशन पार्टी विधानविपरित रहेको निष्कर्ष निकालेको छ ।
सोमबार पार्टी सभपति शेरबहादुर देउवा निवासमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको नेताहरूले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सहमहामन्त्री महेन्द्र यादवले पार्टीभित्र देखिएको विवाद समाधानको सूत्र कार्यसम्पादन समितिको निर्णय नै भएको उल्लेख गर्दै पार्टी सोहीअनुसार अघि बढ्ने बताउनुभयो । उहाँले हाल गरिएका कुनै पनि भेला र कार्यक्रमको औचित्य कार्यसम्पादन समितिले नदेखेको उहाँको जिकिर छ ।


