काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन आयोजना गर्ने र असफल बनाउने संघर्ष तीब्र भएको छ । विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षले गुटगत भेला र छलफलसँगै वक्तव्यबाजी तिव्र पारेका हुन्।
केन्द्रीय सदस्यहरूदेखि जिल्लाका नेताहरू र भातृ संगठनहरूले पक्ष-विपक्षमा विज्ञप्ति निकाल्ने र कित्ता खुलाउने क्रम चलिरहेको छ । विशेष महाधिवेशन भव्य बनाउने र त्यसलाई असफल बनाउने प्रयास समानान्तर रूपमै चलिरहेका छन् ।
आइतबार सुरू हुने विशेष महाधिवेशनका लागि भृकुटीमण्डमा तयारी तिव्र भैरहँदा काठमाडौंका विभिन्न स्थानमा गुटगत भेला, छलफल भैरहेका छन् । महाधिवेशनस्थल भुकुटीमण्डपमा नेपाली कांग्रेसको झन्डा राखेर सिंगारिएको छ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको पक्षधरले कुनै पनि हालतमा विशेष महाधिवेशन नरोकिने भन्दै हस्ताक्षर गरेभन्दा धेरै प्रतिनिधि सहभागी हुने दाबी गरेका छन् । महामन्त्री शर्मासहितका नेताहरुले महाधिवेशनस्थल अवलोकन गर्दै विधान कार्यान्वयन र पार्टी एकताका लागि महाधिवेशन अघि बढ्ने बताए।
आयोजक समितिले पत्रकार सम्मेलन गरेर अधिकांश तयारी भैसकेको जानकारी गराएको छ । तर पार्टी सभापति शेरबहादुर देउवासहितको संस्थापन पक्षले महाधिवेशन असफल पार्न प्रतिनिधिलाई नआउन निर्देशन दिनेदेखि वक्तव्य निकालेर विपक्षमा बहुमत देखाउने कसरत गरिरहेको छ ।
त्यसैका लागि संस्थापन पक्षबाट नेता कृष्णप्रसाद सिटौलासहितले बानेश्वरमा अलग्गै भेला गरेर चुनावको तयारीमा जुट्न भनेका छन् । कांग्रेसका १७ वटा भातृसंगठनले पनि चुनावमै केन्द्रित हुनुपर्ने भनेका छन् । शुक्रबार नै २५ जना केन्द्रीय सदस्यले विशेष महाधिवेशन पक्षधरसँग वार्ता गरेर सहमति खोज्न नेतृत्वलाई आग्रह गरेका छन् ।
ललितपुरको कुपन्डोलमा भएको छलफलपछि विज्ञप्ति जारी गर्दै सो समूहले विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद र सहमतिको वातावरण निर्माण गर्न नेतृत्वलाई अपील गरेको हो । यसैबीच नेपाल विद्यार्थी संघ-नेविसंघका केन्द्रीय सदस्यहरुको एक टोलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटी पार्टीको एकता जोगाउन अपील गरेको छ ।
कांग्रेसकै १७ वटा भातृसंगठनले विशेष महाधिवेशनको विपक्षमा वक्तव्य जारी गरी चुनावमा केन्द्रित हुन् आह्वान गरेका छन् ।


