काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा ३ घण्टा भेटवार्ता भएको छ।
प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलका अनुसार दुई नेताबीच दिउँसो करिब ११ बजेदेखि साढे २ बजेसम्म लामो छलफल भएको हो। भेटवार्तामा मुख्यतः फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर कुराकानी भएको बताइएको छ।
छलफलका क्रममा अध्यक्ष ओलीले निर्वाचनको तयारी, समग्र अवस्था तथा सुरक्षा व्यवस्थाबारे जिज्ञासा राखेका थिए। जवाफमा प्रधानमन्त्री कार्कीले सरकारले सबै आवश्यक प्रबन्ध मिलाइसकेको र ढुक्क भएर निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यस अवसरमा ओलीले प्रधानमन्त्री कार्कीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे समेत चासो व्यक्त गरेका थिए। भेटका क्रममा प्रधानमन्त्री कार्कीले एमालेले चुनौतीपूर्ण परिस्थितिका बाबजुद पार्टी महाधिवेशन सम्पन्न गरी निर्वाचन केन्द्रित गतिविधिमा सक्रियता देखाएकोप्रति सन्तोष व्यक्त गर्दै धन्यवादसमेत दिएकी थिइन्।


