Mero Chitwan
काँग्रेसको नीति र नेतृत्व दुवै फेरौं : गगन थापा

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले भदौ अन्तिम साता भएको ‘जेन–जी विद्रोह’ पछि मुलुकमा ठूलो परिवर्तन आएको उल्लेख गरे। उक्त परिवर्तनमा पार्टीको भूमिका कस्तो रह्यो भन्ने विषयको गम्भीर समीक्षा गर्न नीति र नेतृत्व बदल्नु अपरिहार्य भएको उनको भनाइ थियो।

पार्टी विधानको पालना गर्दा काँग्रेस विभाजनतर्फ जान्छ भन्ने हौवा किन फैलाइँदैछ भन्दै उनले संस्थापन पक्षलाई प्रश्न गरे। महाधिवेशनका लागि ५४ प्रतिशत सदस्यको हस्ताक्षरसहित अघि सारिएको प्रस्ताव फिर्ता नहुने उनले स्पष्ट पारे।

महामन्त्री थापाले भने, “भदौ २२ गतेको नेपाल र भदौ २५ गतेको नेपाल एउटै छैन। भदौ २३ र २४ पछि ठूलो परिवर्तन भयो। यो परिवर्तन किन र कसरी भयो ? यसमा हाम्रो भूमिका के रह्यो ? कहाँ सही भयौँ, कहाँ गलत भयौँ ? यी सबै विषयको समीक्षा गर्नुपर्छ। त्यसका लागि नीति पनि फेरौँ, नेता पनि फेरौँ र विशेष महाधिवेशन गरौँ।”

नियमित महाधिवेशन मंसिरमा हुन नसकेपछि विशेष महाधिवेशनको माग गरिएको उनले बताए। साथै, पार्टीमा युवा महामन्त्री आएपछि आफूहरूलाई स्वीकार नगरिएको भन्दै उनले असन्तोष पनि व्यक्त गरे।

 

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update