काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त हुनुभएको छ ।
शुक्रबार साँझ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। ६ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा यादवले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको थियो । हाल मधेश प्रदेश सभामा १ सय ४ जना प्रदेशसभा सदस्य छन् ।
लामो रस्साकस्सीपछि शुक्रबार दिउँसो सात दलका नेताहरूले कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति गरेपछि उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। मुख्यमन्त्री नियुक्त भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै यादवले यावत चुनौतीलाई सामना गर्दै अघि बढ्ने प्रतिक्रिया दिनुभएको छ ।
यादव मधेश प्रदेशको छैटौं मुख्यमन्त्री बन्नुभएको हो । मधेशमा यसअघि लालबाबु राउत, सरोजकुमार यादव-बारा, सतीशकुमार सिंह, जितेन्द्रप्रसाद सोनल र सरोजकुमार यादव-महोत्तरी मुख्यमन्त्री बनिसक्नुभएको छ।


