Mero Chitwan
एनपिएल : सुदूरपश्चिम र विराटनगरको तेस्रो जित

काठमाडौँ - कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्डर प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज  कर्णाली याक्सविरुद्ध जीत निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४० रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली याक्स १९ दशमलव  दुई ओभरमा ९४ रनमा अलआउट भयो । सुदूरपश्चिमको जीतमा कप्तान ऐरी ब्याटिङ र बलिङ दुवैमा चम्किए । उनले ब्याटिङ गर्दै ३९ रन बनाए भने बलिङतर्फ चार विकेट लिए ।

कर्णालीका लागि पवन सराफले सर्वाधिक २७ बनाए भने मार्क वाटले १७, कप्तान सोमपाल कामीले १४, गुल्शन झाले १३ रन बताए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

 सुदूरपश्चिमका लागि कप्तान ऐरीले चार विकेट लिए भने हर्मित सिंह र अभिनास बोहराले समान दुई÷दुर्य विकेट लिए ।

 त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । उसका लागि कप्तान ऐरीले सर्वाधिक ३९ रन बनाए भने आरिफ शेखले २७ रन जोडे ।

 कर्णालीका लागि कप्तान कामीले तीन विकेट लिँदा ३, नन्दन यादवले दुई विकेट लिएका थिए । 

सन्दीपको उत्कृष्ट बलिङमा विराटनगर लगातार विजयी

 राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा विराटनगर किङ्ग्स विजयी भएको छ ।

विराटनगर लगातार आफ्नो तेस्रो खेलमा विजयी भएको हो । आजको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई नौ रनले हराएको हो । जितका लागि १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय २६ रन मात्रै बनाउन सक्यो । जनकपुरका लागि निकोल लेफ्टी इटनले ४१, लाहिरू मिलन्थाले २३, सञ्जय कृष्णमुर्तिले २० तथा आशिफ शेखले १३ रन बनाए । बलिङतर्फ विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । उनले चार ओभर बलिङ गर्ने क्रममा मात्र ११ रन खर्चिए । यस्तै सूर्य तामाङले दुई तथा मर्चेन्ट डे लाङले र शुभम रन्जनेले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन बनायो । विराटनगरका लागि शुभम रन्जनेले सर्वाधिक ३७ रनको योगदान दिए । उनले २९ बल खेल्दै दुई छक्का र दुई चौका प्रहार गरे । यस्तै बसिर अहमदले ३५ बलमा तीन छक्काको मद्दतमा ३६ रन बनाए । प्रारम्भिक ब्याटर लोकेश बमले २६ बल खेल्ने क्रममा एक छक्का र दुई चौका हान्दै २८ रनको योगदान दिए ।

यस्तै मार्टिन गुप्टिलले १३ र जर्ज मुन्सेले १० रन बनाए । विराटनगरका दुई ब्याटर रनआउट भए । बलिङतर्फ जनकपुर बोल्टस्का रूपेश सिंह र सङ्गीथ कुरेले दुई दुई तथा आदित्य महताले एक विकेट लिए । यसअघि विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौँविरुद्ध जित दर्ज गरेको थियो । तेस्रो खेलमा जितेसँगै विराटनगर ६ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  २२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update