काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई संरक्षक रहने गरी प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।
माओवादी परित्याग गरेर प्रगतिशील राष्ट्रिय अभियान चलाइरहेका जनार्दन शर्मा, नेपाल समाजवादी पार्टी-नयाँ शक्तिका बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको हो । जेन-जी नेताहरू पनि समावेश नयाँ पार्टीले वैचारिक राजनीतिक लाइन भने परिस्कृत मार्क्सवादसहितको नेपाली समाजवाद हुने घोषणा गरेको छ ।
नयाँ पार्टीमा जेन-जी अभियान चलाइरहेका अगुबामध्येकी एक ओजस्वी भट्टराईसहित दर्जनभन्दा बढी जेन-जी नेताहरू पनि सहभागी भएका छन् । वैचारिक राजनीतिक लाइन भने परिष्कृत मार्क्सवादसहितको नेपाली समाजवाद हुने घोषणा गरिएको छ ।
नयाँ शक्तिकै आँखा चुनाव चिन्ह राखिएको प्रगतिशील लोकतान्त्रिक पार्टीमा १ सय ५१ जना केन्द्रीय सदस्य राखिएका छन् । हाललाई ५ सदस्यीय अध्यक्ष परिषद् बनाइएको छ, जसको नेतृत्व हाल सन्तोष परियारले सम्हाल्नुभएको छ । परियारले बाटो अप्ट्यारो भए पनि इतिहास लेखिने दाबी गरे ।
घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले कम्युनिस्ट पार्टी अगाडि बढ्न नसकेकाले नै आफूले नयाँ वैकल्पिक अभियान सुरु गरेको जिकिर गरे।
‘हामीले माओवादी छोडेर गएको होइन। माओवादीको कार्यभार पुरा गरेको हो। २००७ सालदेखि २०७२ साल सम्मको कार्यभार पुरा भएको हो। अब पार्टी र दल मात्र होइन राजनीतिकै पुनर्संरचना गर्नुपर्नेछ। यो पार्टीको योजना जेनजी पुस्ताको चेतनासँग सहकार्य गर्दै युवाले नेतृत्व गर्नुपर्छ। युवाले पनि काम गर्न सकेन भने पुरानै पार्टीतर्फ ढल्किने खतरा हुन्छ। दुई चार सिट जित्नका लागि हामीले नयाँ दोकान थाप्न खोजेका होइनौँ’, उनले भने।


