काठमाडौं । नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ।
त्रिवि क्रिकेट रंगशालामा साेमबार साँझ भएको खेलमा १ सय ३१ रनको लक्ष्य दुई ओभर बाँकी रहँदै पुरा गरेर गोर्खाजले सिजनको उद्घाटन खेलमा जित हासिल गरेको हो । काठमाडौंले टस जितेर जनकपुरलाई पहिले ब्याटिङको निम्तो दिएपछि साविक विजेता टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनाउन सक्यो ।
लाहिरू मिलान्थालाई सात रन र अनिल शाहलाई शून्यमा गुमाएपछि जनकपुरले दबाबमा रहँदै खेल सुरू गर्यो । यी दुवै खेलाडीलाई आउट गराएका अमेरिकी खेलाडी मिलिन्द कुमारले चौथो नम्बरका जान निकोल लोफ्टी इटनलाई २ रनमै पवेलियन फर्काएका थिए।
सञ्जन कृष्ण मूर्तिलाई २ रनमा नै सन्तोष यादवले बोल्ड गरे। त्यसपछि मात्रै सम्हालिएको जनकपुरका लागि आशिफ शेखले मयन यादवसँग ३२ रनको साझेदारी गरे। मार्की खेलाडी आसिफ ४१ बलमा ५१ रनको अर्धशतकीय पारी खेलेर आउट भए । अन्तिममा मयनले ३४ रन जोडे भने लाहिरू समारकोनले २२ रनको योगदान दिए ।
गोर्खाजका मिलिन्दले तीन विकेट लिँदा करण केसी, साहब आलम र सन्तोषले समान एक-एक विकेट लिएका थिए ।जवाफमा गोर्खाजले ५ विकेट गुमाएर १८ ओभरमा १ सय ३१ रनको लक्ष्य पुरा गरेको हो ।ओपनर आकाश त्रिपाठीले बेन चार्ल्सवर्थसँग ७० रनको उत्कृष्ट साझेदारी गरेका थिए । २३ बलमा नै ८ बाउन्ड्री प्रहार गरेर ४६ रन बनाएका बेनलाई लोफ्टि इटनले कट एन्ड बोल्ड गरे ।
भीम सार्की भने तीन रन बनाएर ललित राजवंशीको बलमा क्याचआउट भए । त्यसपछि पनि दबाबरहित भएर खेलेको गोर्खाजका लागि मिलिन्दले १९ रन बनाएका छन् भने जोन सिम्सनले १३ रन जोड्न सके। आकाशले ३९ रन बनाएका थिए । गोर्खाजका लागि किशोर महतो, ललित, रुपेश सिंह, जोफ्टी इटन र संजयले एक-एक विकेट लिए पनि काठमाडौंको जितलाई रोक्न सकेनन् ।

