Mero Chitwan
उपचार गर्न काठमाडौैं हिँडेकी प्रदेश प्रमुखले होटलमा मुख्यमन्त्रीलाई सपथ गराएपछि...

जनकपुर । बिरामीको बहाना गर्दै जनकपुर छोडेकी मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले भूमिगत शैलीमा एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि भण्डारीको चौतर्फी आलोचना भएको छ । 

भण्डारीले  बिहान बर्दिवासको पानस कटेज पुगेर यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । 

 भण्डारीले आज बिहान संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीमा ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता सरोज यादवलाई नियुक्त गरेकी हुन् । 

बर्दिवासको कालापानीस्थित होटल पानसमा सोमबार बिहान ५ बजेर २० मिनेटमा यादवलाई मुख्यमन्त्री पदको शपथसमेत गराइएको छ । होटलमै एमाले प्रदेशसभा सदस्य लखन दास तत्मा, नेपाल संघीय समाजवादी पार्टीकी प्रदेशसभा सदस्य बिमला अंसारी र राप्रपाकी प्रदेशसभा सदस्य कंचन बिच्छालाई विना विभागीय मन्त्रीको शपथ पनि गराइएको छ ।

यसअघि प्रदेश प्रमुख भण्डारीलाई कांग्रेससहित ७ दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलले सरकार बनाउन भन्दै आह्वान गर्न दबाब दिइरहेका थिए । एमालेले पनि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने भन्दै जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा नाराबाजी गरेको थियो ।

आइतबार साँझ प्रदेश प्रमुख भण्डारीले नेपाली कांग्रेस, माओवादी, लोसपा, नेकपा एस, जनमत र जसपाका प्रदेशसभा सदस्यहरुसँग भेटर २/३ जना विज्ञहरुसँग छलफल गरी मात्रै निर्णय लिने प्रतिबद्धता जनाएकी थिइन् ।  तर आज बिहान ३ बजे उपचारका लागि काठमाडौं जान लागेको भन्दै जनकपुरस्थित मधेश प्रदेश प्रमुखको भवनबाट निस्केर उनी बर्दिवासको पानस होटलमा पुगेकी थिइन् । 

 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update