Mero Chitwan
विश्वकप क्रिकेट लिग–२ : नेपाल अमेरिकासँग पराजित

काठमाडौँ-आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल अमेरिकासँग पराजित भएको छ । 

युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो ।

अमेरिकाले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमा समेटियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए । यस्तै,  आसिफ शेखले ३७, भीम सार्कीले २९, आरिफ शेखले २०  तथा सोमपाल कामीले ११  रन बनाए ।

अमेरिकाका लागि हर्मित सिंहले छ विकेट लिए भने शुबमन रन्जानेले दुई तथा रुशिल उगारकरले एक विकेट लिए ।

त्यसअघि ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा छ विकेट गुमाउँदै २६२ रनको योगफल बनाएको थियो ।

अमेरिकाका लागि स्मिथ पटेलले सर्वाधिक ७५ रन बनाए । उनले १०० बलमा नौ चौकाको सहयोगमा ७५ रन बनाएका हुन् । त्यस्तै मिलन्द कुमारले अविजित रहँदै ७० रन बनाए । उनले ५० बलमा छ चौका र दुई छक्का प्रहार गरे । सैतेजा मुक्कामल्लले ४२ र शुभम् रञ्जनेले १९ रन जोडे ।

नेपालका सन्दीप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए । 

 यो जितसँगै अमेरिका २१ खेलमा ३० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो  हारसँगै १७ खेलमा १२ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  २२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update