Mero Chitwan
राजनीतिक दल र जेन–जीबीच छलफल गर्नुपर्ने प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरू र जेन-जीबीच छलफल गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक दलहरूसँगको छलफलमा कार्कीले उक्त प्रस्ताव गर्नुभएको हो ।

प्रधानमन्त्री कार्कीले चुनावको वातावरण बनाउनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले संवादको ढोका खोलेको उल्लेख गर्दै अब जेन-जीसँग पनि संवादमा बस्नुपर्ने प्रस्ताव गर्नुभएको हो । प्रधानमन्त्री कार्कीले सुरुमा दलहरूसँग जेन-जीले संवाद गर्न नै नचाहेको पनि उल्लेख गर्नुभएको थियो। अब जेन-जी र दलहरू संवादमा बसेर स्थिति सामान्यीकरण गर्दै चुनावतिर जानुपर्ने र चुनाव सफल बनाउन सबैले आ-आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो।

राजनीतिक दलहरूले चुनावको वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुका साथै सुरक्षाको प्रत्याभूति गराउनुपर्ने माग गरेका थिए । प्रधानमन्त्री कार्कीले भने राजनीतिक दलहरूले व्यक्त गरेका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको थियो। 

छलफलमा नेपाली कांग्रेसका तर्फबाट गगन थापा र प्रकाशशरण महत, नेकपा एमालेका तर्फबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र पम्फा भुसाल, रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ सहभागी थिए । यस्तै एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, जसपा नेपालका तर्फबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र जनमतका नेता चन्दन सिंह सहभागी थिए । 

छलफलमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन् भने पर्यवेक्षकका रुपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक सहभागी थिए। 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  २२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update