
काठमाडौं । नेपाल लगातार दोस्रो पटक आईसीसी टी-२० विश्वकपमा पुगेको छ।
बुधबार यूएईले सामोआलाई हराएसँगै छनोटको दोस्रो स्थानमा रहेको नेपाल विश्वकपमा पुगेको हो। नेपालसँगै ओमानले पनि विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ।
जारी छनोटमा नेपाल अपराजित छ। समूहमा जापान र कुवेतलाई हराएको नेपालले सुपर सिक्समा यूएई र कतारलाई हराएर ६ अंक सुरक्षित गरेको थियो। बुधबार यूएईको जितसँगै तीन टिमले अधिकतम ६ अंक बनाउने निश्चित भएको छ।
यो छनोटबाट तीन टोली मात्रै विश्वकपमा छनोट हुने भएका कारण अब सामोआ, जापान र कतारले छ अंक बनाउन नसक्ने भएकाले नेपाल र ओमान विश्वकपमा पुगेका हुन्। नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो भने पछिल्लो पटक सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकप खेलेको थियो।
यो छनोटमा नेपालले सानदार बलिङ र फिल्डिङ गरेको छ। विश्वकप आउँदो फेब्रुअरीमा भारत र श्रीलंकामा आयोजना हुनेछ।