Mero Chitwan
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो

काठमाडौं– आगामी टी–२० विश्वकपका लागि एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा जापानलाई पाँच विकेटले पराजित गरेको छ । 

पहिला ब्याटिङ गर्दै जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । आक्रामक ओपनिङ पाएको नेपाल मध्यक्रममा केही धर्मराएको थियो । 

दीपेन्द्र सिंह ऐरी र गुल्शन झाको पारीले नेपाललाई जित दिलायो । नेपालका लागि ‌ओपनर आशिफ शेखले सर्वाधिक २१ बलमा ३८ रन बनाए । यस्तै गुलुशन झाले २० बलमा अविजित २८ रन बनाए । कुशल भुर्तेलले २१ रन, रोहित पौडेलले १८ र दिपेन्द्र सिंह ऐरीले अविजित १४ रन बनाए । 

जापानलाई हराएसंगै नेपालले २ अंक लिएर सुपर-६ मा गएको छ । अब नेपालले सुपर-६ मा समूह ए र सीबाट आउने २-२ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि शीर्ष ३ मा रहन सके अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update