
काठमाडौं । नवनियुक्त मन्त्रीहरुले सपथपछि आजै पदबहाली गरेका छन् । पदबहालीपछि उनीहरुले के के निर्णय गरे ?
मदन परियार, कृषिमन्त्री
कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियारले मल अभावको समस्या हटाउने प्रयास गर्ने बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । मलबिना कृषिको उत्पादन बढाउन नसकिने उहाँको भनाइ छ ।
मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने उहाँले बताउनु भयो । मल आयात भएको खबर सार्वजानिक भइरहँदा पनि यसको अभाव हुने कुराको आफूले गहिरो अध्ययन गर्ने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मल नभएर कृषिको उत्पादन बढाउन सकिँदैन । मैले यो विषयमा अझै अध्ययन गर्न जरूरी छ कि आखिर भएको के रहेछ । किन यो मल चाहीँ समयमा उपलब्ध हुन सक्दैन । किन पटक-पटक चाँही यति टन मल आइरहेको छ, आजभोलि यो जान्छ भन्ने पत्रपत्रिकामा आइरहेको छ । त्यो किन भएन भन्ने कुरा चाँही मैले अब हेर्नुपर्छ । त्यसमा के कमीकमजोरी भएको छ, त्यसलाई हटाउने प्रयास गर्नेछु ।’
महावीर पुन, शिक्षामन्त्री
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूको सल्लाह सुझावअनुसार काम गर्ने बताउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विज्ञहरूले दिएको राम्रा सुझावलाई सकेसम्म छिटो छरितो कार्यन्वयन गर्ने जानकारी दिनुभयो ।
विज्ञान, प्रविधि, नवप्रर्वद्धन, व्यवहारिक अनुसन्धान नै आफ्नो प्राथमिकतामा रहने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अब मैले विज्ञहरूको सल्लाह सुझाव माग्छु, अब को-कोले राम्रो सुझाव दिन आउँछ, सुझाव दिन त राम्रो, नराम्रो सबै आउँछ । जो-जो राम्रो आउँछन्, राम्रो मान्छेको सुझाव लिएर अनि त्यसलाई सकेसम्म छिटो छरितो कार्यन्वयन गर्ने काम हुन्छ ।’ मन्त्री पुनले मन्त्रालयअन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न निर्देशन दिनुभएको छ ।
जगदीश खरेल, सञ्चारमन्त्री
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले फागुन २१ गते जसरी पनि चुनाव गर्नुपर्ने म्यान्डेट पाएको बताउनुभएको छ ।
सोमबार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उहाँले सरकारको मुख्य काम ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउनु रहेको बताउनुभएको हो । सञ्चारमन्त्री खरेलले जनताले अनुभुति गर्ने गरी भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माणको काममा पनि सरकारले केही संरचना बनाएर ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले धुलो र खरानी टक्टक्याउँदै सरकारले जनतामा अनूभूति हुने गरी पुनर्निर्माणको कामलाई अघि बढाउने पनि बताउनु भयो । त्यस अवसरमा मन्त्री खरेलले कर्मचारीहरूको काममा आफूले हस्तक्षेप नगर्ने पनि उहाँले बताउनु भयो । मन्त्री खरेलले काठमाडौंसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएको मन्त्रालयले जनाएको छ ।
अनिलकुमार सिन्हा, उद्योगमन्त्री
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले शहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । सोमबार मन्त्रालयमा पदभार सम्हाल्दै उद्योगसँगै कानून न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहनुभएका उहाँले यस्तो बताउनुभएको हो ।
जेन-जी आन्दोलनमा सहादत प्राप्त गरेका तथा घाइते भएकाहरूको परिवारलाई रोजगार दिनसके उनीहरूलाई केही सहज हुने उहाँले बताउनु भयो । यसका लागि उद्योगी व्यवसायीहरूसँग छलफल गर्ने उहाँको भनाइ छ ।
उहाँले युवाहरूको सिप विकासमा सबैभन्दा बढी आफ्नो ध्यान रहने पनि बताउनु भयो । वैदेशिक रोजगारीमा गएका युवाहरूलाई देश फर्केर देशभित्रै रोजगारी दिने वातावरण निर्माण गर्नुमा आफ्नो जोड हुने उहाँको भनाइ छ । उहाँले आफू कानून क्षेत्रमा रहँदा पनि कर, वैदेशिक लगानी तथा उद्योग वाणिज्यसम्बन्धी विषयमा नै काम गरेको बताउनु भयो ।
उहाँले सरकारी निकायमा फर्निचरलगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने, अत्यावश्यकबाहेक अरू विषयमा कार्यालय धाउनु नपर्ने गरी अनलाइन सेवाको विस्तार गर्न पहल गर्ने निर्णय गर्नुभएको छ ।