Mero Chitwan
नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराउनुभएको छ ।

राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उहाँले पद तथा गोपनीयताको सपथ लिनुभएको हो । राष्ट्रपति पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकांक्षाअनुसार, राजनीतिक दल र सरोकारवालाको परामर्शमा उहाँलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुभएको हो ।

नेपालको संविधानबमोजिम राष्ट्रपतिमा निहित अधिकार प्रयोग गरी संविधानको पालना र संरक्षण एवम् राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले छ महिनाभित्र अर्काे निर्वाचन सम्पन्न गराउनेगरी अन्तरिक सरकारको प्रधानमन्त्रीमा उहाँलाई नियुक्त गरिएको हो ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।

जेनजीले उठाएका मागका विषयमा सहमति जुटेसँगै पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो  ।

नवनियुक्त प्रधानमन्त्री कार्कीले सानो मन्त्रिमण्डल गठन गर्ने र उक्त मन्त्रिमण्डलले गर्ने सिफारिशका आधारमा सरकारका प्राथमिकताका थप काम अघि बढाइनेछ ।

जेनजीले मुलुकमा सुशासन, नयाँ पुस्ताको नेतृत्व र निस्क्रिय तुल्याइएको सामाजिक सञ्जालको सञ्चालन सञ्चालनको माग राख्दै आयोजना गरिएको प्रदर्शन र त्यसपछिका घटनामा ५१ जनाको मृत्यु भएको थियो ।

उक्त घटनापछि तत्कालिन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि उक्त आन्दोलनको माग अनुरूप पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको हो ।

न्यायालयभित्र प्रष्ट विचार, खरो स्वभाव र इमान्दार छवी बनाउनुभएकी उहाँको नेतृत्वको सरकारले प्राप्त समयाधिभित्र स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराई  नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्नेछ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  २३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update