Mero Chitwan
गाउँको फुटबल एकेडेमीले बदलेको बंगलादेशी महिलाको  जीवन

एजेन्सी- करीब १७ करोड ४० लाख जनसंख्या भएको बंगलादेशले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा प्रायः राम्रो प्रदर्शन गर्न सकेको छैन । तर अहिले यो देश महिलाको फुटबलमा चमत्कारजस्तै गर्न थालेको छ । जुलाई महिनामा, सिनियर टिम पहिलो पटक २०२६ एसियाली कपका लागि क्वालिफाइ भयो भने यसै महिनामा, अण्डर–२० टिमले पनि पहिलो पटक महादेशीय च्याम्पियनसिपमा स्थान बनायो ।

यस सफलताको श्रेय देशको सुदूर उत्तरमा रहेको रंगातुंगी युनाइटेड वीमेन फुटबल एकेडेमीलाई पनि जान्छ । यसको स्थापना २०१४ मा मोहम्मद ताजुल इस्लामले गरेका हुन् । उनी धनी व्यापारी होइनन्, बरु एक पूर्व शिक्षक र किसान हुन् जसले समाजको भलाइको लागि सोच्ने गर्छन् । उनी भन्छन्, “एकेडेमी सुरु गर्नु अघि त्यहाँ केही पनि थिएन । मलाई फुटबल निकै मन पर्छ । म केटीहरुलाई अवसर दिन चाहन्थेँ, किनभने मलाई लाग्थ्यो बंगलादेशमा महिला फुटबल धेरै टाढासम्म जान सक्छ।”

अब ताजुल इस्लामका कुरा सत्य देखिन थालेका छन् । एसियाली कपका लागि क्वालिफाइ गर्ने दुवै टिममा एकेडेमीका तीन–तीन खेलाडी रहेका छन् । उनले भने, “हामीले विभिन्न उमेर समूहमा बंगलादेशको प्रतिनिधित्व गर्न धेरै खेलाडी पठाएका छौँ । हामी सबैमाथि गर्व गर्छौं।”

बंगलादेश महिला फुटबलको उदाउँदो तारा

१७ वर्षीया मोसम्मत सागोरिका एकेडेमीकी सबैभन्दा लोकप्रिय खेलाडीमध्ये एक हुन् । उनले अण्डर–२० टिमका लागि एसियाली कप क्वालिफायरमा चार गोल गरेकी थिइन् र उनी एक अनुभवी सिनियर अन्तर्राष्ट्रिय खेलाडी पनि हुन् । दक्षिण एसियाकी उनी सबैभन्दा चर्चित युवा स्ट्राइकरमध्ये एक मानिन्छिन् । गत वर्ष क्षेत्रीय च्याम्पियनसिपमा उनी टुर्नामेन्टकी “सबैभन्दा मूल्यवान खेलाडी” र “शीर्ष स्कोरर” घोषित भएकी थिइन् ।

सागोरिकाले भनिन्, “मेरो सपना सधैँ फुटबलर बन्ने थियो, तर हाम्रो सामाजिक र धार्मिक वातावरणका कारण मेरा आमा–बुबा यसका लागि तयार हुनुहुन्नथ्यो।” सुरुमा परिवारले उनलाई छिट्टै काम गरेर पैसा कमाउनुपर्ने बताउँथे ।

ताजुल इस्लामका अनुसार, सधैंकै ठूलो चुनौती न्यून आय भएका परिवारलाई केटीहरुले फुटबल खेल्न सक्छन् भनेर विश्वस्त गराउनु थियो । उनले भने, “केटीहरु खेलप्रति निकै उत्साहित हुन्थे । तर मलाई थाहा थियो, उनीहरुको आमाबुवासँग कुरा गर्नैपर्छ । फुटबल खेल्नु उनीहरुको छोरीका लागि राम्रो हुन सक्छ भन्ने देखाउनुपर्छ । एक पटक आमाबुवाले साथ दिएपछि त उनीहरु खुलेरै अघि बढे।”

सागोरिकाको अनुभव पनि यस्तै थियो । उनले भनिन्, “जब म एकेडेमीमा भर्ना भएँ, मेरा आमाबुवाले म पढाइमा निरन्तर लागे भने मात्र खेल्न दिने बताउनुभयो । सुरुमा बाबाले अनुमति दिनु भएन, तर पछि उहाँले निकै साथ दिनुभयो । मैले वाचा गरेको छु म एक दिन ठूलो खेलाडी बन्नेछु।”

अवरोध तोड्ने प्रयास

आमाबुबाले अनुमति दिए पनि समाजका धेरै किशोरीले फुटबल खेल्न वा छोटो पोशाक लगाउन पाउँदैनथे ।  पाकिस्तानबाट १९७१ मा स्वतन्त्र भएको यस देशमा महिलाको खेललाई प्राथमिकता दिइएको इतिहास छैन । यसै वर्ष जनवरीमा देशको उत्तर–पश्चिमी शहर जयपुरहाटमा इस्लामी कट्टरपन्थीहरुले फुटबल मैदानमा तोडफोड गरी दुईवटा महिला फुटबल खेल हुन दिएनन् । यसबारे ताजुल इस्लाम भन्छन्, “यो रूढिवादी समाज हो । हाम्रो देश मुस्लिम बहुल छ । केहीले महिला फुटबल होस् भन्ने चाहँदैनथे । यो ठूलो बाधा थियो।”

त्यसैले उनले ठूलो स्तरमा समर्थन जुटाउनुपर्ने महसुस गरे । “हामी स्थानीय नेताहरु, प्रहरी र प्रशासनकहाँ गयौँ । उनीहरुले पनि एकेडेमीलाई साथ दिए,” इस्लामले भने ।

सागोरिकाले थपिन्, “मलाई लाग्छ अकादेमीले हामीलाई सामाजिक सुरक्षा दिन्छ । यहाँ राम्रो कोच छन् जसले फुटबल सिकाउँछन् । एकेडेमीले खेलका सबै सामग्री उपलब्ध गराउँछ । हाम्रो पढाइ र स्वास्थ्यको पनि ध्यान राखिन्छ । यो अकादेमी एसियाली फुटबलका तारा तयार गरिरहेको छ र यसमा म गर्व गर्छु।”

वास्तविक चुनौती

एसियाली स्तरमा सफलता पाएपछि स्थानीय स्तरमा पनि फुटबलप्रति दृष्टिकोण बद्लिएको छ । जब सागोरिकाले २०२४ मा भारतविरुद्ध खेलिन्, उनका गाउँका मानिसहरुले प्रोजेक्टरमा खेल हेरे र उनका आमाबुबा स्टेडियममै पुगे । यिनै गाउँले पहिले महिला फुटबल मन पराउँदैनथे ।

त्यो खेलमा अन्तिम मिनेटमा गोल गर्ने सागोरिकाले भनिन्, “हाफटाइममा कसैले भन्यो, आमाबुबा आएका छन् । म दौडेर उनीहरुकहाँ गएँ । उनीहरु टाढाबाट मलाई हेर्न आएका थिए, म अत्यन्तै खुशी भएँ । म गर्न सक्छु भनेर मैले आमाबुबालाई देखाएँ ।”

तर यति ठूलो सफलता पाएको भए पनि एकेडेमी चलाउन चुनौतीपूर्ण छ । प्रायः पैसाको अभाव हुन्छ । ताजुल इस्लाम भन्छन्, “केहीले थोरै सहयोग गरेका छन्, तर मैले आफ्नो सम्पूर्ण सम्पत्ति लगानी गरिसकेको छु । रंगातुंगी एकेडेमी बंगलादेशमा लोकप्रिय भए पनि राष्ट्रिय स्तरमा कसैले सहयोग गरेको छैन।” उनी आशा गर्छन्, हालैको सफलतापछि महिला फुटबलमा राष्ट्रिय र निजी तहमा सहयोग बढ्नेछ ।

ताजुलले थपे, “हामीसँग आवश्यक जिम उपकरण र फुटबल छैनन् । धेरै समस्या छन्, तर हाम्रो लक्ष्य ठूलो छ । म कठिनाइमा हार मान्दिनँ । म सधैँ केटीहरुलाई चाहिने सबै दिन खोज्छु।”

महिला खेलाडीलाई सहयोग

महिला खेलाडी अहिले फुटबलबाट कमाउन पनि थालेका छन् । फेडरेसनले ३० भन्दा बढी खेलाडीसँग सम्झौता गरेको छ, जसअन्तर्गत मासिक १२५ देखि ३५० युरो (१४६ देखि ४०८ डलर) तलब पाइन्छ । केही खेलाडी विदेशमा पनि खेल्न थालेका छन् । हालैको टिमका १० खेलाडी भूटानी क्लबसँग आबद्ध छन् । उनीहरुको ठूलो सपना २०२७ मा ब्राजिलमा हुने विश्वकपमा खेल्ने हो । यस पटक पहिलो पटक ३२ टिम सहभागी हुनेछन् । उनीहरुको लक्ष्य आगामी १० वर्षभित्र विश्वकपका लागि क्वालिफाइ गर्नु हो ।

सागोरिकाले भनिन्, “हाम्रो समर्पणले हामीलाई गन्तव्यसम्म पुर्‍याउनेछ, किनभने हामी पूर्ण मेहनत गर्दैछौँ । यदि हामीलाई वैज्ञानिक र प्राविधिक सहयोग मिल्यो भने बंगलादेशी महिलाहरु पनि विश्वकप खेल्नेछन् भन्नेमा मलाई विश्वास छ।”

जब त्यो दिन आउनेछ, ताजुल इस्लाम, उनका आमाबुबा, छिमेकी र पूरा बंगलादेश उनीहरुलाई खेल्दै गरेको देख्नेछन् ।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update