Mero Chitwan
टप एण्ड टी–२० : पाकिस्तान साहीन्ससँग नेपाल १ रनले पराजित

काठमाडौं– अस्ट्रेलियामा जारी टप एण्ड टी–२० प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम तथा महत्त्वपूर्ण खेलमा नेपाल पाकिस्तान साहिन्ससँग एक रनले पराजित भएको छ । 

पाकिस्तान साहिन्सले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोली सात विकेट गुमाउँदै १४३ रनमै समेटियो । अन्तिम ओभरमा आठ रन चाहिँदा पहिलो बलमा कुशल मल्लले एक रन लिए । त्यसपछि दीपेन्द्रले तीन रन लिँदै स्ट्राइक फेरि कुशलले पाए । तर कुशल रनआउट भए । त्यसपछि तीन बलमा चार रन आवश्यक थियो । 

आरिफले एक बल डट खेल्दै पाँचौं बलमा एक रन लिए । अन्तिम बलमा तीन रन आवश्यक हुँदा दीपेन्द्रले स्वीप सट लगाए पनि बाउन्ड्री लाइन छुन सकेन र दुई रन लिने क्रममा उनी रनआउट भए । 

आजको खेलमा रोहितकुमार पौडेलले कप्तानी इनिङ्स खेले । उनले ४४ बलमा एक छक्का र ६ चौकाको सहयोगमा ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै उपकप्तान दिपेन्द्रले आज १९५ को स्ट्राइक रेटमा २१ बलमा एक छक्का र २ चौकासहित ४१ रन बनाए । 

आशिफ शेखले ३० बलमा एक चौकासहित २७ रन बनाउँदा लोकेश बमले १० रन बनाए । कुशल भुर्तेल ४, गल्शन झा ३ र कुशल मल्लले २ रन बनाउँदा आरिफ शेख १ रनमा नटआउट रहे । 

पाकिस्तान साहिन्सका तर्फबाट मोहम्मद वासिम र फैसल अक्रमले २/२ विकेट लिँदा मोहम्मद सलमानले एक विकेट लिए । 

त्यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको पाकिस्तान साहिन्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४४ रन बनाएको थियो । पाकिस्तानका लागि इरफान खानले सर्वाधिक ४२ रन बनाउँदा अब्दुल समदले २६ रन बनाए । यस्तै मोहम्मद वासिमले २३, यासिर खानले १८ र मेहरन मुम्ताजले १० रन बनाए । 

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । यस्तै नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले २/२ विकेट लिँदा कुशल भुर्तेलको नाममा एक विकेट रह्यो । यो हारसँगै नेपालको उक्त प्रतियोगितामा सेमिफाइनल पुग्ने बाटो रोकिएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update