Mero Chitwan
किन संकलन गरे कांग्रेस-एमालेले उपसभामुखविरुद्ध हस्ताक्षर ?

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरविरूद्ध एकवर्ष अगाडि कांग्रेस र एमालेले अनधिकृत व्यक्तिलाई अमेरिका पठाउन दूतावासलाई पत्राचार गरेको आरोप लगाउँदै संसद् चर्काएका थिए । 

यो विषय पछि त्यत्तिकै सेलायो । तर  मंगलबार एकाएक यो विषयले राजनीतिक बजार ततायो । 

सोही विषयलाई लिएर सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले रानालाई पदबाट हटाउन सांसद्हरूको हस्ताक्षर संकलन समेत गरेका छन् ।

पदीय आचरणअनुसार काम नगरेको भन्दै दुई तिहाइ बहुमत जुटाएर उपसभामुख रानालाई पदबाट हटाउन  सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएर हस्ताक्षरसमेत गरायो र  दुबै दलका प्रमुख सचेतकहरुलाई बुझाइएको छ । तर उनीहरूले उपसभामुख रानामाथि उठेको विषय संसद्को छलफल प्रकृयामै रहेको भन्दै हस्ताक्षर संकलन भने हटाउनका लागि नगरिएको दाबी गरेका छन् ।

संवैधानिक परिषद्मा सत्ता पक्ष अल्पमतमा परेपछि कांग्रेस र एमालेले उपसभामुख रानालाई हटाउने प्रयास फेरि अघि बढाएका हुन् । कांग्रेस स‌सदीय दलको कार्यालयमा नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकहरूबीच छलफल भएको थियो । 

कांग्रेस र एमालेका नेताहरूबीच हिजो साँझ पनि बालुवाटारमा बैठकमा उपसभामुख हटाउने विषयमा छलफल भएको थियो । उपसभामुख रानाले अनधिकृत व्यक्तिलाई अमेरिका पठाउन दूतावासलाई पत्राचार गरेको र उक्त विषय मानव बेचविखनसँग जोडिएको सत्ता पक्षको दाबी छ । 

उनीहरूलेकी उपसभामुखले नैतिकताका आधारमा राजिनामा दिएर छानबिनमा सघाउनुपर्ने नभए संवैधानिक व्यवस्था बमोजिम पदबाट हटाइने दाबी गर्दै आएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  २२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update