
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले राजनीतिमा प्रवेशको अध्यक्ष केपी शर्मा ओलीले कडा आलोचना गरेका छन् ।
आज च्यासलस्थित पार्टी कार्यालयमा बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति भइसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किनु गम्भीर विषय रहेको टिप्पणी गरेका हुन् ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष ओलीले राष्ट्रपति राष्ट्रको परमाधिपति र गणतन्त्रको प्रतीक भएकाले यस्तो व्यक्तिले सक्रिय राजनीतिमा फर्कने विषयमा गम्भीर छलफल आवश्यक रहेको बताएका थिए।
पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सदस्यता नविकरण गरी एमालेमा सक्रिय भइसकेकी छन् । तर, पार्टीभित्रै यस विषयमा मत विभाजन देखिएको छ। एक पक्षले राष्ट्रपति पदको गरिमा कायम राख्दै राजनीतिमा फर्किन नहुने धारणा राखिरहेका छन् भने, अर्को पक्षले भण्डारीको सक्रिय सहभागिताले पार्टीलाई थप बल पुग्ने तर्क अघि सारेका छन्।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष ओलीले उचित समयमा केन्द्रीय कमिटीबाट निर्णय गर्ने बताएका छन्। एमाले बैठकमा विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने सम्बन्धमा प्रस्ताव तयार पारिएको विषयमा समेत छलफल भएको छ।