Mero Chitwan
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना

काठमाडौँ — कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जाना लगाइएको छ । तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौताअनुसार क्षतिपूर्ति तिराइएको हो । 

सम्झौताअनुसार आयोजनाको कूल रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक हर्जाना तिर्नुपर्नेछ । दैनिक दुई लाख रुपैयाँभन्दा बढी क्षतिपूर्तिबापत रकम दिनुपर्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले मैदानको प्यारापिट बनाउन बीकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेको जानकारी दिए । प्यारापिट बनाउन रु ४९ करोड २५ लाख र फ्लडलाइट जडानका लागि रु ४७ करोड ३७ लाखमा सम्झौता भएको थियो ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले यही असार ३० गते ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जना लाग्ने जानकारी गराइसकिएको जनाएको छ । 

असार ३० गते निर्माण कम्पनीलाई पूर्वनिर्धारित क्षतिपूर्ति (हर्जाना)बारे जानकारी गराइसकिएको र मंगलबारदेखि उनीहरूले दैनिक हर्जाना तिरेर काम गरिरहेको जनाइएको छ । काम नसक्दासम्म दैनिक हर्जाना लाग्नेछ । यसरी हर्जाना तिरेर बढीमा २०० दिनसम्म अर्थात् आयोजनाको कूल रकमको १० प्रतिशत हर्जाना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था छ । सो अवधिमा पनि काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने व्यवस्था छ ।'

निर्माण कम्पनीले एक महिनामा काम सक्ने प्रतिवद्धता जनाएको छ । हालसम्म चार हजार कुर्सी जडान भइसकेका छन् भने छ वटा फ्लडलाइटमध्ये तीन वटा पोल आइसकेका छन् । प्यारापिटतर्फ वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ । फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तीय र ४५ प्रतिशत भौतिक प्रगति भएको छ । 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  २२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update