
काठमाडौं । नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर शेयर किनबेच र आवास कर्जाको सीमा बढाउँदै आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दै आवासीय कर्जाको सीमा बढाइएको घोषणा गर्नुभयो । अब निजी घर निर्माण गर्दा र वा खरिद गर्दा ३ करोड रुपैयाँसम्म कर्जा पाइने छ । यसअघि दुई करोड रुपैयाँ कर्जा पाइन्थ्यो ।
यसैगरी अब विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने भएका छन् । यसअघि २ हजार ५ सय डलर बराबर सुविधा पाउने व्यवस्था थियो । यस्तै शेयर कर्जा १५ करोडबाट बढाएर २५ करोड पुर्याइएको छ ।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आगामी आर्थिक वर्षका लागि १२ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य राखेको छ । ब्याजदर करिडोरको माथिल्लो र तल्लो दुवै सीमा घटाइएको छ । यो व्यवस्थाले बजारमा थप मुद्रा आपुर्ति हुने अपेक्षा गरिएको छ ।