Mero Chitwan
सक्रिय राजनीतिमा फर्किएको विद्या भण्डारीको घोषणाले एमालेमा तरंग

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू फेरि नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेकी छन् । सात वर्ष राष्ट्रपति भएर बाहिरिएको दुई वर्षपछि भण्डारी एमालेको सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएकी हुन् । मदन भण्डारीकोको ७४औँ जन्मजयन्त्रीको अवसर पारेर मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् । 

'फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन,' उनले भनिन् । 

राष्ट्रपति हुनुअघि विद्यार्थी र पार्टी राजनीति हुँदै संसदीय फाँटको जिम्मेवारीमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरिसकेको स्मरण गराउँदै उनले अब पार्टीको सवै खालको जिम्मेवारीका लागि तयार भएर फर्किएको संकेत पनि गरिन् । 

मदन भण्डारी फाउन्डेसनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथि र पूर्वराष्ट्रपति भण्डारीलाई विशिष्ट अतिथिको रुपमा उपस्थित गराएको थियो । अध्यक्ष ओलीलाई साक्षी राखेर एमालेका फर्किएको घोषणा गर्ने तयारी भण्डारीको थियो । तर प्रधानमन्त्री ओलीले स्पेन भ्रमणमा जानुपर्ने भएकाले अगाडि नै आफ्नो सम्बोधन गरे । भण्डारीको राजनीतिमा सक्रिय हुने चर्चा कार्यक्रममा चलिरहेका बेला प्रधानमन्त्री ओलीले एमालेमा कुनै बम पड्कनेवाला नभएको टिप्पणी गरे । 'यहाँ मैले एकदम बम पड्काउँछु,विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, ड्याङड्याङ डुङडुङ, यहीँबाट एमाले ध्वस्त हुन शुरु गर्छ । यो सपना देखेर बसेका छन् । कुनै बम, बन्दुक, बारुद गोला पड्किनेवाला छैन । आश नगरे हुन्छ । नेकपा एमाले एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्छ । आश पनि कस्ता कस्ता आश गरेका होलान् । आश गरेर बसेका छन् । यसो अनलाइनतिर पसेर हेर्दा तपाईं छक्क पर्नुहुन्छ । हामी यस्तो भ्रममा पर्नु हुँदैन, ’ ओलीले भने । 

पूर्वराष्ट्रपति भण्डारीको पुनरागमनले नेकपा एमालेको राजनीतिमा हलचल ल्याइदिएको छ । भण्डारीलाई आगामी नेतृत्वका रुपमा एमालेका केही नेताले हेरेका छन् । त्यसको तयारीका लागि मदन भण्डारी फाउन्डेसनले तत्कालीन महासचिव मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा वरिष्ठ उपाध्यक्ष पोखरेललाई संयोजक तोकेर अभियान नै सञ्चालन गर्ने तयारी गरेको छ । 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  २३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update