Mero Chitwan
दैलेखमा नेपालीलाई ५० वर्षसम्म पुग्ने मिथेन ग्यास भेटियो

काठमाडौं । दैलेखमा नेपालीहरूलाई ५० वर्षसम्म पुग्ने मिथेन ग्यास भेटिएको छ ।  दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका क्रममा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको चीनको एसएनपीसी सीबु इन्जिनियरिङको प्रारम्भिक अध्ययनले देखाएको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छिट्टै व्यावसायिक उत्पादन थालेर पेट्रोलियम पदार्थको निर्भरता कम गर्दै जाने बताएको छ ।

चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले ८ महिनासम्म गरेको ४ हजार १३ मिटर गहिरो ड्रिलिङ तथा हरेक २-२ मिटरमा गरेको अध्ययनका आधारमा दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको पाइएको छ ।

नेपालमा वार्षिक ४५ हजार टन एलपी ग्यास खपत हुन्छ । एलपी ग्यासलाई मिथेनले विस्थापित गर्न सक्ने प्राविधिक बताउँछन् । र व्यावसायिक उत्पादन गर्न सकेको खण्डमा दैलेखमा भेटिएको परिमाणले एलपी ग्यासको विकल्प बनी ५० वर्षसम्म माग धान्न सक्ने प्राविधिक बताउँछन् ।

चिनियाँ सर्भे कम्पनीले यसै वर्षको मंसिर पुससम्ममा अन्तिम प्रतिवेदन दिँदै छ । सम्भावना देखिएको क्षेत्रमा परीक्षण उत्पादनको काम पनि चिनियाँ जिओलोजिकल सर्भे कम्पनीलाई दिने गृहकार्य उद्योग मन्त्रालयको छ ।

उसले ७५ दिनभित्र परीक्षण उत्पादन र व्यावसायिक उत्पादनको सम्भावनाका विषयमा विस्तृत प्रतिवेदन दिँदै छ । परीक्षण र व्यावसायिक उत्पादनको विषयमा ६५ करोड खर्च गरिँदै छ ।

दैलेखको सिरस्थान, नाविस्थान पादुका र धुलेश्वरमा वर्षौंदेखि जमिनमुनि ठाउँ ठाउँमा ज्वाला बल्दै आइरहेको छ, यही ज्वाला बलेको आधारमा चिनियाँ विज्ञ टोलीले ४ वर्षअघि देखि ती स्थानमा विभिन्न अनुसन्धान गर्दै आएका थिए ।

१ वर्षअघि जलजले क्षेत्रमा चीनबाट ठूला उपकरण ल्याई ८ महिनासम्म चौबिसै घण्टा ड्रिलिङ गरिएको थियो । कडा चट्टानका कारण केही समय लम्बिए पनि अनुसन्धान सफल भएको छ ।

नेपालमा वार्षिक ५५ अर्ब रुपैयाँभन्दा बढीको खाना पकाउने एलपी ग्यास आयात हुने गरेको छ । समग्रमा वार्षिक करिब ३ खर्बको पेट्रोलियम पदार्थको आयात हुँदै आएको छ । काठमाडौं लगायत विभिन्न स्थानमा चल्ने सफा टेम्पोमा एलपी ग्यासकै प्रयोग हुँदै आइरहेकाले तिनमा पनि विकल्पका रूपमा मिथेन प्रयोग गर्न सकिने प्राविधिक बताउँछन् ।

 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  २२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update